×

गैर कानुनी ढंगले भारत हुँदै कुवेत जान लागेका ४७ जना महिलाको उद्धार गरी नेपाल फर्काइयो

images

काठमाडौँ । गैर कानुनी ढंगले भारतको बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूको उद्धार गरी नेपाल फर्काइएको छ ।

दिल्लीस्थित नेपाली दुताबासका अनुसार भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदी एयरको उडानमार्फत् जुलाई २२ मा बोर्डिंग पास लिई कुवेत जाने क्रममा उनीहरूसँग भएको एनओसी शंकास्पद देखेपछि विमानस्थलको अध्यागमनले दूतावाससँग समन्वय गर्दा एनओसी नक्कली भएको प्रमाणित भएपछि उनीहरुलाई कुवेत जानबाट रोक लगाइएको थियो । यसअघि, अर्को ४७ जनाको समूहलाई शंकास्पद एनओसी बोकेको आधारमा भारतको सोही अन्तर्राष्ट्रिय विमानस्थलबाट बोर्डिंग पास जारी नगरी फर्काइएको थियो ।

सो घटनापछि राजदूतावासका प्रतिनिधिहरू विमानस्थल गई अध्यागमनका अधिकारीहरूसँगको समन्वयमा उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको थियो । भारतको विदेश मन्त्रालयसमेतको सहजीकरणमा बसमार्फत् नेपाल फर्काइएका सबै ४७ जनालाई राजदूतावासका प्रतिनिधिहरूको रोहवरमा थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी कार्यालया, रुपन्देहीलाई हस्तान्तरण गरिएको दुताबासले जनाएको छ ।

दुताबासले भनेको छ- 'मानव तस्करहरूको फन्दामा परी गैर कानुनी रुपमा विदेश जाने र विदेशमा गई अलपत्र पर्ने नेपाली नागरिकहरूको संख्या ठूलै छ । अतः आफू ठगिन एवं कानुनी झन्झटबाट जोगिन विदेश जानु अघि आफूसँग भएका पासपोर्ट, भिसा, एनओसी लगायत सबै कागजातहरू दुरुस्त भएको यकिन गरेर मात्र यात्रा गर्नु हुन तथा कसैको लहैलहैमा नलागी नेपाल सरकारको नीति, आफू जान लागेको ठाउँ लगायत सबै कुरा राम्रोसँग बुझेर विश्वासिलो व्यक्ति वा संस्थामार्फत् मात्र प्रक्रिया अगाडि बढाउनु हुन मुलुकहरूमा नेपाली महिलाहरू राजदूतावास हार्दिक अनुरोध गर्दछ । घरेलु कामदारका रुपमा खाडी पठाउन नेपाल सरकारले प्रतिबन्ध लगाएको ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।'

बिहीबार ९ साउन २०८२ ०९:१५ PM मा प्रकाशित

प्रतिक्रिया