×

हामी सत्तामा अल्झिँदा वैरीहरू २० बर्से रणनीतिमा लागेका रहेछन्, एउटै पार्टी बनाउन थाले झगडा हुन्छ : प्रचण्ड

images

काठमाडौँ (एजेन्सी) — नेपाली कम्युनिस्ट आन्दोलन र वामपन्थी ध्रुवीकरणका सन्दर्भमा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्कालै एउटै एकीकृत पार्टी बनाउन खोज्दा आन्तरिक किचलो र झगडा मात्रै बढ्ने बताएका छन्। त्यसैले अहिले नै हतारमा पार्टी एकता गर्नुभन्दा साझा न्यूनतम कार्यक्रम बनाएर विचार र मुद्दाका आधारमा मोर्चा वा गठबन्धन निर्माण गर्नु उपयुक्त हुने उनको भनाइ छ।

एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतका राजनीतिक घटनाक्रम र वामपन्थी शक्तिहरूको कमजोरीबारे आत्मसमीक्षा पनि गरे। आफूहरू सत्ता, सरकार र पदको जोडघटाउमा अल्झिरहँदा परिवर्तनविरोधी र विरोधी (वैरी) शक्तिहरू भने २० वर्षे दीर्घकालीन रणनीति बनाएर व्यवस्था उल्ट्याउने खेलमा लागेको उनले दाबी गरे।

वामपन्थी तथा प्रगतिशील शक्तिहरूबीचको एकताको बहस चलिरहेका बेला प्रचण्डले हतारको एकता टिकाउ नहुने अनुभव सुनाए। विगतमा भएका एकता र विभाजनका अनुभवहरूबाट पाठ सिक्नुपर्नेमा जोड दिँदै उनले भने:

"अहिले नै एउटै पार्टी बनाउन थालियो भने कसलाई कता व्यवस्थापन गर्ने, पद र नेतृत्व कसले लिने भन्ने विषयमै आन्तरिक खिचाताची र झगडा सुरु भइहाल्छ। त्यसैले अहिल्यै एउटै सांगठनिक ढाँचामा ढाल्न खोज्नुभन्दा विचार, सिद्धान्त, संविधानको रक्षा र जनजीविकाका साझा मुद्दामा कार्यगत एकता गरेर जानु व्यावहारिक हुन्छ।"

उनले राजनीतिक दलहरू फरक-फरक विचार र स्कुलिङबाट आएकाले संगठनात्मक रूपमै विलय गराउन खोज्दा संघर्ष सिर्जना हुने स्पष्ट पारे। त्यसैले पहिलो चरणमा राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक गणतन्त्रको रक्षा र जनजीविकाका सवालमा टेकेर साझा न्यूनतम कार्यक्रम बनाई अघि बढ्नुपर्ने उनले बताए।

आफ्नो सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध, जनआन्दोलन र ऐतिहासिक परिवर्तनपछि आफूहरू सरकार सञ्चालन र सत्ता समीकरणको खेलमा बढी रुमल्लिएको स्वीकार गरे। सोही अवसरको फाइदा उठाउँदै संविधान र गणतन्त्र विरोधी शक्तिहरू सङ्गठित भएको उनको तर्क छ।

 "हामी कुन मन्त्री बन्ने, कुन सरकार टिकाइराख्ने वा गिराउने भन्ने तात्कालिक जोडघटाउमै अल्झिरह्यौँ। तर, व्यवस्था र प्राप्त उपलब्धिहरू उल्ट्याउन चाहने वैरीहरू भने २० वर्षपछिको रणनीति बुनेर भित्रभित्रै योजनाबद्ध रूपमा लागिसकेका रहेछन्," प्रचण्डले भने। प्राप्त उपलब्धिहरू (संघीयता, धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्र) माथि चौतर्फी प्रहार भइरहेको उल्लेख गर्दै उनले यसलाई ‘प्रतिक्रान्ति’ को प्रयासका रूपमा चित्रण गरे।

यस्ता षड्यन्त्रहरूलाई परास्त गर्न सडक र जनताको मञ्चबाटै सशक्त प्रतिरोध गर्नुपर्ने अवस्था आएको उनले बताए। आवश्यकता परे काठमाडौँमा ५ देखि ७ लाख मानिस सडकमा उतारेर भए पनि परिवर्तनको रक्षा गरिने चेतावनी उनले दिए।

माओवादी आन्दोलन र अन्य परिवर्तनकारी धाराहरूलाई एकै ठाउँमा ल्याउन आफूले पहलकदमी लिइरहेको भन्दै प्रचण्डले एउटै पार्टी नबने पनि देश र जनताका लागि बाहिरी मोर्चा बलियो बनाउन सकिने बताए।

प्रतिक्रान्ति र भ्रष्टीकरणका विरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा देशभक्त तथा प्रगतिशील शक्तिहरू एक ठाउँमा उभिएर अघि बढ्नुको विकल्प नरहेको उनको निष्कर्ष छ।

शुक्रबार​ ८ साउन २०८३ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया