इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएका छन-अमेरिकी राष्ट्रपति ट्रम्प

    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ऐतिहासिक घोषणा गर्दै इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन् । युद्धविराम सम्झौता आगामी ६ घण्टा पछिबाट सुरु भएर १२ घण्टाभित्रै चरणबद्ध रूपमा कार्यान्वयनमा आउने ट्रम्पले बताएको सीएनएनले जनाएको छ ।

    ट्रम्पले सामाजिक संजालमा लेखेका छन्, “इजरायल र इरानबीच पूर्णरूपमा सहमति भएको छ । अबको लगभग ६ घण्टापछि इजरायल र इरानले आफ्ना अन्तिम मिसनहरू समाप्त गर्नेछन् र त्यसपछि १२ घण्टासम्म पूर्ण युद्धविराम हुनेछ । त्यस बिन्दुमा युद्ध समाप्त भएको मानिनेछ ।”

    इरान र इजरायल दुवैले आगामी युद्धविरामबारे कुनै टिप्पणी गरेका छैनन् । ट्रम्पको पोस्ट अनुसार, युद्धविराम आगामी २४ घण्टामा चरणबद्धरूपमा लागु हुने बताइएको छ  ।

    “आधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्नेछ र १२औँ घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ । २४औँ घण्टामा १२ दिने युद्धको आधिकारिक अन्त्यलाई विश्वले स्वागत गर्नेछ । प्रत्येक युद्धविरामको समयमा, अर्को पक्ष शान्त र सम्मानजनक रहनेछ,”  पोष्टमा भनिएको छ ।

    ट्रम्पको घोषणापछि उपराष्ट्रपति जेडी भान्सले ट्रम्पले सम्झौता अन्तिम विन्दुसम्म पुर्‍याएको फक्स न्यूजको अन्तर्वार्तामा बताएका छन् ।

    “हामीले वास्तवमा त्यसमा काम गरिरहेका थियौँ, यो राम्रो समाचार हो । राष्ट्रपतिले त्यसलाई अन्तिम बिन्दुसम्म पुर्‍याउन सफल भए,” भान्सले भने ।

    भान्सले ट्रम्पको पोस्टको मस्यौदा प्रसारणमा जानुभन्दा दुई मिनेटअघि पढेको बताउँदै भान्सले भने, “इरानसँग परमाणु हतियार बनाउने क्षमता छैन । हामीले त्यसका उपकरणहरू नष्ट गरिदियौँ ।”

    यसैबीच, ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्दै इजरायल र इरान दुवै पक्षसँग प्रत्यक्ष संवाद गरेको र उनीहरू पूर्ण युद्धविरामका लागि सहमत भएको बताए । यो सहमति शान्ति स्थापनातर्फको ठूलो कदम भएको उनको दाबी थियो । ट्रम्प प्रशासनले इरान र इजरायल दुवै देशसँग गोप्य वार्ता गर्दै आएको थियो ।  

    मङ्गलबार १० असार २०८२ ०८:१६ AM मा प्रकाशित

    प्रतिक्रिया