×

जग्गा अधिग्रहणको सिमाङ्कन अन्तिम चरणमा

images

कैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सिमाङ्कन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणका लागि सिमाङ्कनको कार्य चाँडो सक्न निर्देशन दिनुभएको थियो ।  अहिले उक्त कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित नेपाल नागरिक उड्डयनको कार्यालयले जनाएको छ ।

जग्गा अधिग्रहणका लागि गरिएको सिमाङ्कन तथा चार किल्लाको निरीक्षणका लागि काठमाडौँबाट  त्यसतर्फ प्राविधिक टोली जाने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले जनाएको छ । जग्गा अधिग्रहणका लागि चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित उड्डयन कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ हामीले जग्गा अधिग्रहणको चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पु¥याएका छौँ, आज प्राविधिक टोली आएर हेर्नेछन् ।” गेटा विमानस्थलको विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि गएको पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहणको निर्णय गरिसकेको थियो ।

विमानस्थलका अनुसार पूर्वतर्फ खुटिया सडक, उत्तरतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ३४० मिटर उत्तरसम्म, पश्चिमतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ७०० मिटर, पश्चिमसम्म र दक्षिणतर्फ हालको तारबार गरिएको क्षेत्रबाट १०० मिटर दक्षिणसम्म विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने लगभग टुङ्गो लागेको जनाइएको छ । जग्गा अधिग्रहण हुने क्षेत्रमा अहिले माटो खन्नेदेखि जग्गाको स्वरुप बिगार्ने काम भएको गुनासो आएपछि गेटा नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्रमा माटो नखन्न र जग्गाको स्वरुप नबिगार्नसमेत सम्बन्धित जग्गाधनीलाई आग्रह गरेको छ ।

मङ्गलबार १० जेठ २०७९ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया