×

केन्द्रीय प्रयोगशालालाई विशिष्टीकृत परीक्षण गर्ने प्रयोगशाला बनाइने

images

सरकारले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई विशिष्टीकृत परीक्षण गर्ने प्रयोगशालाको रुपमा विस्तार गर्ने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै केन्द्रीय प्रयोगशालालाई आधुनिक एव सुविधासम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहजरुपमा हुने व्यवस्था मिलाइने बताउनुभयो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तै विशिष्टीकृत स्वास्थ्य प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहित र आकर्षित गरिने, देशभरिका प्रयोगशालामा परीक्षण हुन नसकेको अवस्थामा मात्र विदेशमा परीक्षण गर्न पठाइने नीति तथा कार्यक्रममा उल्लेख  छ ।

यस्तै नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने, शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एवं क्यान्सरलगायत दीर्घरोगीका लागि प्रत्येक प्रदेशमा पुनःस्थापना र परामर्श केन्द्र स्थापना गरिने उल्लेख छ । नागरिकको सहभागितामा नसर्ने रोग न्यून गर्न नागरिक आरोग्य अभियान सञ्चालन गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । 

सबैको प्रयासले कोभिड–१९ नियन्त्रणमा

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले दुई वर्षदेखि विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले चालेका कदमसमेतको परिणामस्वरुप असर सामान्य हुँदै गएको बताउनुभएको छ । 

“सबैको संयुक्त प्रयासबाट महामारीकाविरुद्ध लड्न र त्यसबाट सिर्जित प्रतिकूल अवस्थाको सामना गर्न सकिन्छ भन्ने दृढ विश्वास राखेको छु” उहाँले भन्नुभयो, “सबैको अथक प्रयासबाट कोभिड–१९ रोकथाम गर्न सकिएको छ ।”

राष्ट्रपति भण्डारीले सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको बताउनुभयो । हालसम्म ९६ प्रतिशतले खोपको पहिलो मात्रा र ८५ प्रतिशतले पूर्णमात्रा लगाइसकेका छन् । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालन भएको नीति तथा कार्यक्रममा उल्लेख छ । 

मङ्गलबार १० जेठ २०७९ ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया