काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।
बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् । बिहीबार सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन्। सरकारी वकिलको बहस सकिएकाले आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् र त्यसपछि जवाफी बहस सुरु हुनेछ ।
बन्दी प्रत्यक्षीकरणको रिटको अन्तिम आदेश आज आउने सम्भावना रहेको अधिवक्ता प्रमोद न्यौपानेले जानकारी दिएका छन् । उनले भने,‘नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाई भईरहेको छ । आजसम्म प्रतिवादीका कानून व्यवसायीहरु वकिलले बहस गरे भने अब बाकी जाहेरवालाका तर्फबाट बहस गर्न बाकी छ र प्रतिउत्तर जवाफ दिएपछि सम्भवत आज बन्दी प्रत्यक्षीकरणको रिट र ७३ नम्वरको निवेदनको संयुक्तरुपमा सुनुवाई भएकाले आदेश आउने सम्भावना छ ।’
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि सुनुवाइ जारी छ । लामिछाने र जोशी सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् । बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाएको हो । रविले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै रिटको सुनुवाइ एकसाथ भइरहेको छ ।
प्रतिक्रिया