×

‘जनताको प्रतिनिधित्व गरेको हाम्रो बोली, बोलीमा मात्र सीमित नहोस्’

images

काठमाडौँ, ११ फागुन : नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर जनउत्तरदायी, सहभागितामूलक, लोकतान्त्रिक राज्य र शासन व्यवस्था प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिको मूलधारमा आएको बताउनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीे । उहाँ भन्नुहुन्छ–सबै वर्ग, जाति, लिङ्ग, समुदायका आवश्यकता र मागलाई पार्टीको मूल संरचनाबाटै उठाई राजनीतिलाई भन्दा कामलाई हामीले प्राथमिकतामा राखेका छौँ । भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुन हाम्रो पार्टी दृढ छ । राजनीतिलाई सुसंस्कृत र सम्मानित बनाउन हाम्रो पार्टी प्रतिबद्ध छ ।

उहाँ भन्नुहुन्छ–मुलुकमा मौलाएको भ्रष्टाचारविरुद्ध मुख्य एजेण्डा बनाई खराब प्रवृत्तिप्रति निरन्तर आवाज बुलन्द पार्न हामी अडिग छौँ । हाम्रो पार्टीमा प्रवेश गर्दैगर्दा तथा प्रतिनिधित्व जनाउँदा राज्यले दिएको सेवासुविधा प्रयोग गरे पनि जनतालाई मारमा पारेर अनियमितताका गतिविधि गर्नेविरुद्ध हाम्रो पार्टी लागिरहन्छ । 

सांसद नेपालीका अनुसार राजनीति जनताको सेवा हो । सेवाभावले राजनीति गर्नुपर्छ भन्ने भाव नेपाली राजनीतिमा देखिँदैन । मुलुकको आधारभूत आवश्यकता तथा प्राथमिकताका क्षेत्रलाई दृष्टिगत गरी सांसद आफ्नो जिम्मेवारीमा अडिग रहनुपर्छ । जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सम्बोधन गर्नुपर्छ । जनताको प्रतिनिधित्व गरेको हाम्रो बोली, बोलीमा मात्र सीमित नहोस् । सांसदको सार्थकता संसद्मा उठाइएका विषय स्थापित भए÷नभएकामा निर्भर गर्दछ । संसद्मा उठाएका विषयलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध हुनुपर्छ ।

“हिजो म जनता थिएँ, राजनीतिक दलले राष्ट्र निर्माणका क्रममा गरेका विषयमा नियालेका हुन्थ्यौँ । प्रश्न गरेका हुन्थ्यौँ । आज म प्रतिनिधिसभामा जनताको प्रतिनिधित्व गर्दैगर्दा मैलै गरेका कामप्रति तथा मप्रति जनताले प्रश्न गर्ने ठाउँ रहन्छ । यस विषयमा म जिम्मेवार बन्नुपर्छ । दलित समुदायबाट मैले संसद्मा प्रतिनिधित्व गर्दैगर्दा समग्र मुलुकसँगै दलित समुदायको प्रतिनिधित्व पनि गर्नुपर्छ । कानुन निर्माण गर्ने र जनताको आवाज बुलन्द गर्ने मुख्य थलो संसद्लाई प्रभावकारी बनाउन राष्ट्र र जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,” उहाँ भन्नुहुन्छ । 

रासससँगको संवादमा सांसद नेपालीले भन्नुभयो–संसद्मा अहिले हामी प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ । संसदीय अभ्यासमा प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुन्छ । संसद्मा प्रतिपक्षमा रहिरहँदा हाम्रो मुख्य भूमिका सरकाले गरेका कामको अवलोकन गरी रचनात्मक आलोचना गर्दै सही बाटोमा डोहोर्याउनु हो । जसमा हामी प्रतिबद्ध छौँ, पार्टी प्रतिबद्ध छ । 

नेपाली राजनीतिमा नयाँ दलको रूपमा संसद्मा प्रवेश गर्दैगर्दा जुन हुटहुटी लिएर प्रवेश गरेका थियौँ, अभ्यासमा भने अपेक्षाअनुरुप हुन सकेन । हुन त हामी सिक्ने क्रममा छौँ, सिक्दैँ छौँ । म यातायात व्यवसायी तथा दलित समूहबाट प्रतिनिधित्व गरेका हिसाबले संसद्मा विशेषगरी यातायात व्यवसायी, दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेको छु । यी मुद्दालाई स्थापित गर्नुपर्छ  र जनताका आधारभूत आवश्यकता परिपूर्ति हुन नसकेका विषयलाई ध्यान दिएर शून्य, विशेष, आकस्मिक समयमा आवाज उठाउँदै आएको छु ।

पछिल्लो समय अध्ययन तथा रोजगारीका सिलसिलामा ठूलो सङ्ख्यामा युवाको बहिर्गमन देशका लागि सुखद् पक्ष होइन । हामीले युवालाई देशमा बस्ने वातावरण सिर्जना गर्न युवाको क्षमता, आवश्यकताको सुक्ष्म अध्ययन गरी सोहीअनुरुपको रोजगारी सृजना गर्नेतर्फ मुलुक उन्मुख हुनुपर्छ ।
 
स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरी राष्ट्रिय उत्पादन अभिवृद्धिमा जोड दिनुपर्छ । परिणाममुखी, सीपमूलक, नैतिक, रोजगारी केन्द्रित, व्यवहारिक शिक्षा प्रणाली अवलम्बन गरी शिक्षा प्रणालीलाई समयानुकूल बनाई सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्छ । आर्थिक अवस्थालाई स्तरोन्नति गर्न युवाको रोजाइ बाह्य मुलुक बन्न पुग्यो । यस्तो अवस्थालाई निराकरण गर्न नीतिगत सुधार, निजी तथा सहकारी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउँदै मुलुकभित्रको जनशक्ति सदुपयोग गर्न आवश्यक छ । गर्न सक्ने र खुबी भएका युवालाई समयसापेक्ष नीतिगत व्यवस्था गरी रोक्ने वातावरण बनाउन जरुरी छ ।

संसद्को चालु अधिवेशनमा पार्टीले संसद्मा गैरसरकारी विधेयक (प्राइभेट बिल) लैजाने विषयमा छलफल भइरहेको छ । नेपालको इतिहासमा प्राइभेट बिललाई त्यति महत्त्वपूर्णरूपमा हेरिएको रहेनछ । आ–आफ्नो विज्ञताअनुसार दलभित्रका सांसद कानुनलाई समयसापेक्ष, गुणस्तरीय बनाउन प्रयास गरिरहनुभएको छ । विज्ञको टोलीसँग संसदीय अभ्यासलाई कसरी प्रभावकारी बनाउने, नीति–निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने सम्बन्धमा नियमित छलफल गरिरहेका छौँ । नेपाली समाजको परिवेशअनुसार, जनताको आवश्यकतानुसार राजनीतिक व्यवस्थालाई थप मजबुत बनाउन विज्ञसँगको छलफललाई अझ सुदृढ बनाउन आवश्यक ठानेका छौँ ।
 
सङ्घीय सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण हो भन्ने जनतालाई नेपालको राजनीतिक दलले बुझाउन सक्नुभएको रहेनछ कि जस्तो मैले अनुभव गरेँ । सांसदले करोडौँसम्मको बजेट पारिदिएर विकास निर्माण गरिदिने भन्ने जुन नेपाली समाजमा भाष्य निर्माण भएको छ । स–साना बजेटमा रमाउन हाम्रो समाजलाई सङ्घीय सांसदको भूमिका बुझाउन जरुरी छ । आफ्नो निर्वाचन क्षेत्रमा जाँदा बजेट चाहियो भन्ने जनताको आवाजलाई हामी कसरी सम्बोधन गर्ने ? सांसदसँग आर्थिक सहयोग माग्ने परिपाटीले जनतासमक्ष असहज हुँदोरहेछ । हामीले उठाएका मुद्दा स्थापित भएपछि मात्र राजनीतिक अनुभव अझ प्रगाढ होला । नेपाली जनताको सेवक हुन धेरै बाँकी छ । अनुभव बटुल्दै जानेछौँ । अहिले हाम्रा प्रतिबद्धतालाई धेरै साकार पारिसकेका छैनौँ । धेरै गर्न बाँकी छ । 

सांसद नेपाली गण्डकी प्रदेशको कास्की जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ । समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनुभएका उहाँ प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विसं २०७९ देखि राजनीतिक दलमा आबद्ध हुनुभएका सांसद नेपालीसँग खेल, सामाजिक तथा यातायात क्षेत्रसम्बन्धी अनुभव छ । 

शुक्रबार​ ११ फागुन २०८० १०:०८ AM मा प्रकाशित

प्रतिक्रिया