×

एमालेले गरेको विकास देख्न नसक्नेहरूले एमालेमाथि हमला गरे -एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

images

काठमाडौं। नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा एमालेले गरेको विकास देख्न नसक्नेहरूले एमालेमाथि हमला गरिरहेको बताएका छन् । एमाले धादिङको प्रथम प्रतिनिधि परिषदको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले विकास रोक्न र नेपाललाई कमजोर बनाउन एमालेमाथि हमला भइरहेको स्पष्ट पारेका हुन् ।

लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको, मानवअधिकार र सुशासनको पक्षमा लागेर वंशपराम्पराको शासन नभई जनताले चुनेको व्यक्तिको शासनको पक्षमा निरन्तर लागेकाले एमालेमाथि हमला भएको उनले बताए ।

उनले भने,‘नवलपरासीमा फलाम खानी, दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन लगायतका विकासका काम गर्दै जाँदा देशको राष्ट्रियता बलियो बन्छ , देश समृद्ध हुन्छ र यस कामबाट एमाले बलियो हुन्छ भनेर डराएका विरोधीहरूले एमालेमाथि हमला गरिहेका छन् ।’

एमाले राष्ट्रियताको पक्षमा, सामाजिक सद्भाव र आर्थिक विकासको पक्षमा, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक लाग्ने बताउँदै उनले पार्टीेमाथि भएको हमलाको कडा प्रतिवाद गर्न कार्यकर्ताहरूलाई आग्रह गरे । पार्टीभित्र एकता कायम गर्न जरूरी रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले सानो पार्टी हुँदा सानो चुनौती हुने र अहिले पार्टी ठूलो भएको, देश चलाउने अवस्थामा रहेको बेलामा ठूला चुनौतीहरू आएको भए पनि एमालेले चुनौतीहरूलाई सामना गर्न सक्षम रहेको बताए ।

आइतबार​ ८ असार २०८२ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया