×

पार्टी विवाद अदालत र सडकमा नभई सानेपामा समाधान गरौँ: प्रदीप पौडेल

images

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका मतभेद र आन्तरिक असन्तुष्टिलाई अदालत वा सडकमा नलगी राजनीतिक संवादमार्फत समाधान गर्न आग्रह गर्नुभएको छ। शुक्रबार एक अपिल जारी गर्दै उहाँले सबै पक्षलाई सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आएर संवादका माध्यमबाट निकास खोज्न आह्वान गर्नुभएको हो।

महामन्त्री पौडेलले पार्टीका आन्तरिक मुद्दाहरू कानुनी झमेलामा पर्नु वा सडकमा पोखिनुले लोकतन्त्र र पार्टी दुवैलाई कमजोर बनाउने बताउनुभयो। "हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन," अपिलमा भनिएको छ, "राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ। आफ्ना फरक विचार बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्।"

देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पौडेलले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र खबरदारी नपुगे मुलुक अनिश्चयको दिशामा जाने जोखिम रहेको बताउनुभयो। यस्तो अवस्थामा कांग्रेस एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

साथै, उहाँले पार्टीको आगामी १५ औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेतृत्व चयनको लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्न सबैलाई आग्रह गर्नुभएको छ।

शुक्रबार​ ५ भदौ २०८३ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया