काठमाडौं, ७ असार । राष्ट्रिय स्वतथन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले पार्टी मूलधारको राजनीतिको निर्णायक शक्ति नबनेसम्म आन्दोलन नरोकिने बताएका छन् । आज (शनिबार) पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले २०८४ को निर्वाचनबाट आफूहरु देशको निर्णायक शक्ति बन्ने बताए । उनले अहिले आफूहरु दुःखमा रहेको बताउँदै पार्टीले उक्त दुःखलाई पुँजीमा परिणत गर्ने बताए । रास्वपा एक भएर अगाडि बढ्दाखेरी दुनियाँको कुनै तागतले पनि निर्णयक शक्ति हुनबाट रोक्न नसक्ने उनको भनाइ छ ।
‘अब हाम्रो संघर्ष अनन्त छ । यो अनन्तकालीन संघर्षको शंखनाद नै हामीले गरेका हौं । यसका स्वरुपहरु फरक–फरक हुनसक्छन् । कहिले हामी रिबन लगाएर विरोध गरौंला, कहिले पलेटी कसेर बसौंला । कहिले सडकमै उत्रिऔंला । जिल्ला–जिल्ला, पालिका–पालिकाहरुमा पनि हामी आउने छौं । यो अभियान अब २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको मूलधार राजनीतिको निर्णायक शक्ति नबनेसम्म यो आन्दोलन अब रोकिनेवाला छैन । हामी उल्लासबाट अलिकति संघर्षको मोडमा छौं । दुःख पर्दाको उर्जालाई हामीले सशक्त राजनीतिक पुँजीमा परिणत गरेर हामी अगाडि जाऔं,’– उनले भने ।
उपसभापति वाग्लेले पार्टी सभापति रवि लामिछानेको न्यायका लागि पनि पार्टी राजनीतिक रुपले बलियो हुनुपर्ने अपरिहार्यता रहेको बताए । उनले लामिछानेको न्यायका लागि कानुनी लडाईँसँगसँगै राजनीतिक लडाईँ पनि लडिने बताए । उनले नेपालको न्यायलयप्रति आफूहरुलाई अझै भरोसा रहेको पनि बताए ।
‘रवि लामिछानेजीले न्याय पाउनका लागि पनि हामी राजनीतिक रुपले बलियो हुनुपर्ने अपरिहार्यता अहिले आएको छ । कानुनी लडाइँ लड्दै गरौंला । नेपालको न्यायलयप्रति हामीलाई अझै भरोसा छ । कानुनी सँगसँगै अब यो राजनीतिक प्रतिशोध साँधिएको हुनाले हामी पनि राजनीतिक लडाइँ नै लड्नुपर्ने हुन्छ,’– उनले भने ।
प्रतिक्रिया