काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको शुक्रबारको फैसलाले उनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गरेपछि अब उनलाई सजाय तोक्ने प्रक्रिया सुरु हुने भएको छ । अदालतले सजाय निर्धारणका लागि आगामी असार १६ गते सुनुवाइको मिति तोकेको विशेष अदालतका सूचना अधिकारी यज्ञप्रसाद रेग्मीले जानकारी दिए ।
बस्नेतमाथि घरजग्गा व्यवसायी राजुप्रसाद कँडेलबाट घुसबापत रकम लिई त्यसलाई शुद्धीकरण गरेको अभियोग लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले सजाय निर्धारणको लागि पेश गर्ने आदेश गरेको छ । मेयर बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनले पद्मा कोलोनी प्रालिका सञ्चारक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ घुस लिएको आरोप रहेको थियो । भ्रष्टाचार (गैरकानूनी सम्पत्ति आर्जन) आरोपमा भने मेयर बस्नेतले सफाइ पाएका छन् ।
प्रतिक्रिया