काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा पौडेललाई नियुक्त गरेको हो।
यससँगै राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर विवाद टुंगिएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरेकोमा सरकारले पौडेललाई नियुक्त गरेको हो।
समितिले पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको हो । प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नरको रूपमा नियुक्त गर्ने सहमति भएको थियो ।
गभर्नरमा नाम सिफारिस हुनुअघि पौडेल आफै गभर्नर सिफारिस समितिको सदस्य थिए। सत्तारूढ दलहरूले उनकै नाम गभर्नरमा सिफारिस गर्ने भएपछि उनले समितिबाट राजीनामा दिएका थिए।
प्रतिक्रिया