×

भीम रावलको प्रस्ताव: 'शीर्ष नेताहरूले स-सम्मान बिदाइ लिएर नेतृत्व हस्तान्तरण गरौँ, अनि मात्र वामपन्थी एकता सम्भव छ'

images

बुटवल, ३ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री डा। भीम रावलले कम्युनिस्ट आन्दोलनको पुरानो साख फर्काउन शीर्ष नेताहरूले पदको मोह त्याग्नुपर्ने बताउनुभएको छ। उहाँले अबका दिनमा नेतृत्व हस्तान्तरणसहितको नयाँ जगमा वामपन्थी तथा देशभक्त शक्तिहरूबीच वैचारिक एकता र सहकार्य गर्नुपर्ने विशेष प्रस्ताव अघि सार्नुभएको हो। 

शनिबार संविधान दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले बुटवलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक लुम्बिनी प्रदेश स्तरीय विचार गोष्ठीलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेता रावलले यस्तो धारणा राख्नुभएको हो। 

नेता रावलले वर्तमान कम्युनिस्ट नेतृत्वमा चरम पदमोह र कम्युनिस्ट आचरणको अभाव भएकाले नै पार्टीहरूमाथि चौतर्फी घेराबन्दी भइरहेको र आन्दोलन कमजोर बनेको टिप्पणी गर्नुभयो। शीर्ष नेताहरूलाई लक्षित गर्दै उहाँले प्रश्न गर्नुभयो, "एकैजना मानिस कति चोटी प्रधानमन्त्री भएपछि, कति पटक पार्टी अध्यक्ष र कति पैसा भएपछि सन्तुष्ट हुन्छ? वैचारिक र संगठनात्मक रूपमा नेताज्यूहरू तपाईंहरूको योगदान र त्याग देखियो, अब स-सम्मान बिदाइ हुनुस् र नयाँ पुस्तालाई बाटो छोडिदिनुस् भनेर कार्यकर्ताले भन्न सक्नुपर्छ।" 

विगतमा बनेको तत्कालीन नेकपा र त्यसपछिको सरकारको नेतृत्वले गरेको अकर्मण्यताका कारण कम्युनिस्ट पार्टीहरू प्रति जनताको विश्वास र समर्थन घटेको उहाँको स्वीकारोक्ति थियो। गत वर्षको 'जेनजी आन्दोलन' र त्यसपछिको निर्वाचन परिणामले कम्युनिस्ट शक्तिहरू निकै कमजोर अवस्थामा पुगेको तर्फ सङ्केत गर्दै उहाँले अब गम्भीर आत्मसमीक्षा गर्न ढिलाइ गर्न नहुने बताउनुभयो।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका रावलले अहिले नेपालको राष्ट्रिय अखण्डता र कूटनीतिक मर्यादामाथि गम्भीर धक्का लागिरहेको आरोप लगाउनुभयो। "प्रधानमन्त्रीले सार्वभौम संसद्मै उभिएर नेपालले भारतको सीमा मिचेको छ भन्नु र मुस्ताङको युरेनियम उत्खनन तथा अमेरिका-अस्ट्रेलियामा डाटा सेन्टर स्थापनाका नाममा राष्ट्रघाती सम्झौताहरू हुनुले देशलाई ठुलो भू-राजनीतिक सङ्कटमा धकेलेको छ," उहाँले भन्नुभयो। यस्ता जनविरोधी र राष्ट्रघाती कामको भण्डाफोर गर्नका लागि पनि छरिएर रहेका इमानदार वामपन्थी र देशभक्त शक्तिहरू एक ठाउँमा उभिनै पर्ने बेला आएको उहाँको जोड थियो।

कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका अर्का नेता चक्रपाणि खनाल 'बलदेव' ले वर्तमान सरकारका विरुद्ध कम्युनिस्ट पार्टीहरू अब संघर्षमा उत्रनुपर्ने बताउनुभयो। मदन भण्डारी र प्रचण्ड स्कुलिङबाट आएका शक्तिहरू पुनः एकताबद्ध हुनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, "अहिलेका प्रधानमन्त्री देश जलाएर सत्तामा पुगेका हुन्। अब कम्युनिस्टहरूले आवश्यक परे बल प्रयोग गरेर दिनभरिमा शासन उल्ट्याउने गरी आन्दोलनको तयारीमा जुट्नुपर्छ।" 

त्यस्तै, नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले पनि नेपाली कम्युनिस्ट आन्दोलनमा पुस्तान्तरण अपरिहार्य भइसकेको धारणा राख्नुभयो। यदि अहिलेको नेतृत्वले नयाँ पुस्तालाई सहज रूपमा नेतृत्व हस्तान्तरण नगर्ने हो भने युवाहरू कम्युनिस्ट विचारमा आकर्षित नहुने अवस्था आउने उहाँले चेतावनी दिनुभयो। कार्यक्रममा नेकपाका नेता जगन्नाथ खतिवडा लगायतले वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्न अहंकार त्याग्नुपर्नेमा जोड दिएका थिए।

शनिबार ३ असोज २०८३ ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया