×

भेडापालक किसानले पाए गोठालो भत्ता

images

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट जिल्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन् । पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा २६५ किसानले निवेदन दिएका थिए ।

निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्डस्तरमै स्थलगत रिपोर्ट र मूल्याङ्कन गरेपछि मात्र सो भेडापालक किसानलाई गोठालो भत्ता प्रदान गरेको पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिनुभयो ।

प्रदेश सरकारले यहाँका भेडाको उत्पादन बढाउन यस्तो व्यवस्था गरेको हो । एक वर्षभरि भेडा हेर्न जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्ने उद्देश्यस्वरूप गोठालो भत्ता दिने गरिएको छ । भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम लागू गरिएको पशु सेवा कार्यालयका प्रमुख महतले बताउनुभयो । पचासदेखि माथि भेडा पाल्ने किसानलाई मासिक रु एक हजार ५०० का दरले वार्षिक रु १८ हजार भत्ता दिइएको हो । 

यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो । रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयमा २८४ किसानले आफ्नो फार्म सूचीकृत गराएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । सो कार्यक्रम माथिल्लो कर्णालीका जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पामा गरी पाँच जिल्ला प्रदेश सरकारले लागू गरेको छ । 

भेडा गुमाएका कृषकलाई राहत वितरण

जिल्लाको पातारासी गाउँपालिका–४ लुमका चट्याङमा परी भेडा गुमाएका पाँच कृषकलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्तरूपमा कृषकहरुलाई राहत वितरण गर्नुभएको हो । कृषकहरुलाई कूल पाँच लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ । 

यसमध्ये धर्मसिंह रिउले रु एक लाख ४४ हजार, सुक रिउले रु एक लाख ७६ हजार, मानबहादुर रोकायाले रु ८० हजार, शङ्कर नेपालीले रु ४० हजार र जोरा रोकाया रु ८० हजार पाएका छन् । प्रतिभेडाको रु चार हजारका दरले वितरण गरिएको पशु सेवा कार्यालय जुम्ला प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो । 

गत असार १७ गते पातारासी–४ मा पर्ने बागजाले पाटनका चट्याङ परी पाँचजना कृषकका ८० वटा भेडा मरेका थिए भने ३०० भेडा हराएका थिए । राहत वितरण गर्दै भूमि तथा कृषि सहकारी मन्त्रालयका सचिव दाहालले कर्णालीका किसानले अनिवार्य बीमा गर्नुपर्ने बताउनुभयो । 

मङ्गलबार ३ साउन २०७९ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया