 
                        काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेशी तोकिएको छ ।
पटक-पटक हेर्न नमिल्नेमा पर्दै आएको उक्त रिट सोमबार प्रधान न्यायाधीश राउत र पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको हो। लामिछानेको रिट चौथो स्थानमा परेको छ।
लामिछानेसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडिआइजी छविलाल जोशीको रिट पनि एकसाथ राखिएको छ। आइतबार लामिछानेको रिट न्यायाधीशहरू मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो। तर पटक-पटक हेर्न नमिल्नेमा पर्दै आएपछि उक्त इजलासले हेर्न नमिल्नेलाई तर्काएर बाँकीले गोला तान्ने व्यवस्था गर्न आदेश दिएको थियो।
उक्त आदेशसँगै सोमबार प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको इजलासमा परेको हो। सामान्यत: बन्दी प्रत्यक्षीकरणको रिट पहिलो प्राथमिकतामा पर्ने गर्दछ तर लामिछानेको यो मुद्दा पाँच पटक हेर्न नमिल्नेमा परिसकेको छ। रविको बन्दी प्रत्यक्षीकरणको रिट सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो। तर उक्त इजलासले हेर्न मिलेको थिएन।
वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि वैशाख २८ गते न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल, वैशाख ३० गते हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठ र वैशाख ३१ गते नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा हेर्न नमिल्नेमा परेको थियो।
प्रतिक्रिया