नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा युवा नेता अर्जुन थापालाई उमेद्वार बनाएको छ ।
नेकपा म्याग्दीका नेता सेरबहादुर केसीले पार्टीको तर्फबाट थापालाई उमेद्वार बनाउने निश्चित भएको जानकारी दिनुभयो । थापा टिकट लिनका लागि काठमाडौ जानुभएको छ । ११ बजे थापालाई संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले टिकट हस्तान्तरण गर्नका लागि पार्टी कार्यालय बोलाउनुभएको छ । ४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७ धारापानी निवासी हुनुहुन्छ ।
वि.स. २०५६ मा शिवाङको हेम (नमुना आवासीय) माविमा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक कमिटिको अध्यक्ष बनेर राजनीतिक यात्रा शुरु गरेका थापा अध्ययनको क्रममा काठमाडौमा रहँदा भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व गर्नुभएको थियो ।
लामो समय विद्यार्थी राजनीतिमा काम गरेका थापा पछिल्लो पटक साविक नेकपा माओवादी केन्द्रको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका थापाको नेतृत्वमा काठमाडौमा स्वतन्त्र रक्तदाता समूहले बिरामीहरुलाई निशूल्क रगतको ब्यवस्था मिलाउदै आएको छ ।
५२ पटक रक्तदान गरेका थापाको समुहले १० हजार जना भन्दा बढी बिरामीलाई उपचारका लागि निशूल्क रगतको व्यवस्था मिलाएको छ । बुवा र आमाको नामबाट चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा पछिल्लो तीन वर्षयता विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आउनुभएको छ ।
प्रतिक्रिया