×

दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

images

दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने  यात्रुलाई लक्ष्य गरेर सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि आएकाहरु चडपर्व मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । एकैपटक लाखौँ व्यक्तिले काठमाडौँ छोड्ने हुँदा यात्रुको भीड बढ्ने भएकोले विगतदेखि नै दसैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिँदै आइएको छ  । यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवाला निकायको सहकार्यमा गत भदौ २२ गते बसेको बैठकको निर्णयअनुसार यातायात व्यवस्था विभागले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिनुभयो । नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीलगायत स्थानबाट अग्रिम टिकट बुकिङ सुरु गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष  स्वाँरका अनुसार पश्चिमको धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायत स्थानमा जानका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवसायीले भने देशका मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोधसमेत गरेका थिए ।

यस वर्षको अग्रिम टिकट बुकिङ खुला गर्नका लागि नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा टिकट बुकिङ काउण्टर थप गरेको छ । प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले दसैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि बस टिकट काउण्टर थप गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्ष्य गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उक्त कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर निर्धारका साथै यात्रुलाई गन्तव्यस्थलसम्म सहजै पुग्न समन्वय गरिने बताउनुभयो । 

शनिबार १ असोज २०७९ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया