काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा आफूहरुले उठाएको मागप्रति सरकार उदासिन बनेको आरोप लगाएकी छिन् । भिजिट भिसाको आवरणमा नेपालबाट ठूलो परिमाणमा मानव तस्करी र भ्रष्टाचार भैरहेको तथ्य बाहिर आएको सुनाउँदै सांसद कार्कीले सरकार यो विषयमा गम्भीर नबनेको आरोप लगाईन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भनिन्,‘यसले हाम्रो इज्जत र गरिमामामात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा समेत देशको साख धुमिल बनाएको छ । हामीले यस्ता आपराधिक क्रियाकलापविरुद्ध निरन्तर सदनमा आवाज उठाइरहेका छौं । हामी अहिले आन्दोलनमा छौं । यस्तो विषयमा सरकार किन मौन बसेको हो ? म सोध्न चाहन्छु–यो विषयमा सरकारले सुन्न नचाहने कुरा के छ ?’
उनले भिजिट भिसा प्रकरण आजको समस्या नभएर ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको स्मरण गराईन् । आफूहरुले यो प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेर दोषीलाई कारबाहीको माग गर्दा सरकारले रोष्ट्रमबाट धम्काएको भन्दै उनले आक्रोश पोखिन् ।
उनले आफूहरुले गृहमन्त्री रमेश लेखकलाई यो प्रकरणमा अपराधी नभनेको स्पष्ट पारिन् । तर, विवादस्पद अध्यागमन प्रमुखलाई एक दिनमै सरुवा गरिनु र मन्त्रालयमा फर्काउने कुराले प्रश्न भने उठेको उनको भनाई छ । गृहमन्त्री लेखकमाथि प्रत्यक्ष संरक्षण र परोक्ष संलग्नताको आरोप लागेपछि पदमा बसेर निश्पक्ष छानबिन हुन नसक्ने कार्कीको भनाई छ ।
उनले भनिन्,‘उहाँले गत वर्ष संसद्मा प्रस्तुत गर्नुभएको नैतिकताको मानकअनुसार राजीनामा दिनुपर्छ भनेका हौं, यसमा हामीले गलत के भन्यौं ?’ उनले यो प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गरिन् । यत्रो दिनसम्म आफूहरुले विषय उठाउँदा सरकार चुप लागेर बस्नु दुई तिहाईको घमण्डमात्रै भएको उनको टिप्पणी छ ।
प्रतिक्रिया