×

मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिन्छ- प्रधानमन्त्री ओली

images

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रमा बोल्दै उनले देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकारका चाहिने बताएका हुन्।

‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौँ। अब त्यो भ्रममा रहनु हुँदैन। साना साना स्वार्थ लिएकाहरुले हामी विरुद्ध भ्रम फिँजाएका छन्। त्यस्तो भ्रममा पर्नु हुँदैन। एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरुले साथ दिनुपर्छ।’, प्रधानमन्त्री ओलीले थप भने, ‘म युवाहरुलाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहान्नँ। आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ। मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन्। रहर लागेर तुरुन्तै डाक्टर, इञ्जिनियर हुँदैनन्। मेहनत र समय आवश्यक हुन्छ। यो वास्तविकता तपाईँहरुले बुझ्नुपर्छ।’

एमाले देशलाई नयाँ बाटोमा नयाँ गतिका साथ अगाडि बढाउने पार्टी भएकाले त्यसमा अनुभव र पहिचान लगायतका अनेकौं पाटो महत्त्वपूर्ण हुने बताए।

अहिले 'पुरानो' भन्ने ट्रेन्ड चलिरहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसप्रति पनि आलोचना गरेका छन्।  

'यो २० वर्ष गाडी हाँकिसकेछ। पुरानो भइसक्यो अब के हाँक्छ। मैले अस्ती एक महिनाअघि सिकेको छु म चलाउँछु भनेर कसैले भन्यो वा सिक्दै सिकेको छैन तर म चलाउँछु भन्यो भने गफ मात्रै हुन्छ,' प्रधानमन्त्री ओलीले भने।

शनिबार ४ जेठ २०८२ ०८:१७ PM मा प्रकाशित

प्रतिक्रिया