×

जनता अब सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा उभिन जरुरी छ- प्रचण्ड

images

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा भदौ २३ र २४ गते भएका हत्या, आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्। चुनावी अभियानका क्रममा विकट क्षेत्रको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश जोगाउने शक्तिबीच प्रतिस्पर्धा चलिरहेको बताएका हुन्।

उनले विशेष गरी २३ गते साँझ भएको नरसंहार र २४ गतेको आगजनी घटनाप्रति सम्बन्धित पक्षले आत्मसमिक्षा गर्नुपर्नेमा ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक सङ्केत भएको उल्लेख गरे। गल्ती स्वीकार नगरे भविष्यमा यस्ता घटना दोहोरिन सक्ने उनले चेतावनी दिए।

२४ गते भएको आगजनी तथा तोडफोडमा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको दाबी गर्दै उनले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने गतिविधि देखिएको आरोप लगाए। २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको उनले बताए।  

‘यी दुवै गलत प्रवृत्तिविरुद्ध हामी नेपाली जनतालाई सचेत गराइरहेका छौं । २३ र २४ गतेका घटना नहोस् र दोहोरिन नदिन हाम्रो पार्टी प्रतिबद्ध छ’ उनले भने ।

उनले हाल देशमा तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गर्दै यो अवस्था जनमत संग्रह जस्तो भएको बताए । कुन प्रवृत्तिलाई जिताउने भन्ने निर्णय अब जनताले गर्ने समय आएको भन्दै उनले देश जलाउने, हिंसा र दमन गर्ने प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक रहेको बताए ।

‘जनताले अब फैसला गर्नुपर्छ। सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा उभिन जरुरी छ। देशको पक्षमा काम गर्न सकिएन भने फेरि दुर्घटनामा पर्न सक्छ,’ उनले भने ।

मङ्गलबार ५ फागुन २०८२ ०७:५१ PM मा प्रकाशित

प्रतिक्रिया