×

मधेस सरकारबाट कांग्रेस मन्त्री मात्र हटाइनुको अन्तर्य

images

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे। लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई टेलिफोन गरेर कांग्रेसका तीन मन्त्रीलाई हटाउन निर्देशन दिए।


अध्यक्ष यादवको निर्देशन स्विकार्दै राउतले कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई राजीनामा दिन आग्रह गरे। राजीनामा नगरे पदमुक्त गर्ने चेतावनी पनि दिइयो। तर यादव, शर्मा र सिंह राजीनामा गर्न तयार देखिएनन्। अन्ततः शुक्रबार मुख्यमन्त्री राउतले उनीहरूलाई पदमुक्त गरे।

मुख्यमन्त्री राउतको सिफारिसमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनै मन्त्रीलाई पदमुक्त गरेका थिए। केन्द्रमा प्रधानमन्त्री देउवाले झै खाली भएका मन्त्रालय मुख्यमन्त्री राउत आफैंले राखेका छन्। तर मुख्यमन्त्री राउतले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मन्त्रीहरूलाई भने सरकारबाट हटाएनन्।

मधेस सरकारमा नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह गृह तथा सञ्चार मन्त्री, रुबी कर्ण सञ्चार राज्यमन्त्री छन् भने नेकपा एसबाट शत्रुधन महतो उद्योग, पर्यटन तथा वनमन्त्री, नागेन्द्र राय यादव राज्यमन्त्री तथा प्रमोदकुमार यादव कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री छन्।

जसपाका प्रवक्ता मनीष सुमनले क्रियाको प्रतिक्रियास्वरूप मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूलाई हटाइएको बताए। ‘केन्द्रमा कांग्रेसले हामीप्रति जस्तो व्यवहार गर्‍यो, मधेस सरकारमा हामीले त्यस्तै व्यवहार गरेका हौं,’ सुमनले भने, ‘केन्द्रमा हाम्रा मन्त्रीहरूलाई बर्खास्त गरिएकोमा यसको सबै दोष हामीले प्रधानमन्त्री देउवाको मात्र देखेका छौं।’ केन्द्रमा जसपाका मन्त्रीहरू बर्खास्त गरिनुमा माओवादी केन्द्र र नेकपा एसको कुनै हात नरहेको निष्कर्ष जसपाले निकालेको सुमनले बताए। ‘अझै पनि हामी माओवादी केन्द्र र नेकपा एससँग मिल्न सक्छौं। त्यो सम्भावना कायम राखेर नै हामीले मधेस सरकारबाट ती दलका मन्त्रीहरूलाई नहटाएका हौं,’ सुमनले भने।

केन्द्र सरकारबाट जसपाका मन्त्रीहरूलाई हटाउनु प्रधानमन्त्रीको अपरिपक्व निर्णय भएको उनको भनाइ छ।

स्रोतका अनुसार जसपा अध्यक्ष यादवले प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ मा माओवादीको भोट आकर्षित गर्न वा माओवादीको सहानुभूति लिन मधेस सरकारमा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरूलाई नहटाएका हुन्। नागरिक दैनिकबाट

शनिबार २९ असोज २०७९ ०९:३८ AM मा प्रकाशित

प्रतिक्रिया