×

केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री

images

दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताए ।

उनले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो हिजोको एकता टिक्न सकेन । फेरि एकताका प्रयास गर्दैछौं । समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ ।’

उनले तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने बताउँदै एमालेमा पनि एकताका पक्षधरहरू रहेपनि नेतृत्व बाधक रहेको बताए । प्रचण्डले समाजवादी मोर्चा हुँदै फेरि नेकपा बनाउने कोसिस भइरहेको बताए ।

‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ। त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र बिसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो।’

हिजोको एकता कायम राख्न सम्भव नभएको उल्लेख गर्दै फेरि एकताका लागि पहल गर्नुपर्ने बताए।  


 

बुधबार ३१ जेठ २०८० १२:५५ PM मा प्रकाशित

प्रतिक्रिया