×

जनप्रतिनिधिको टकरावले सात महिनासम्म वृद्धवृद्धाले भत्ता पाएनन्

images

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका वृद्धवृद्धाले सात महिना बित्दासमेत सामाजिक सुरक्षा भत्ताबापतको रकम पाएका छैनन्। सामाजिक सुरक्षा भत्ताका लागि संघीय सरकारले नै बजेट पठाउँछ। भत्ता बाँड्ने र त्यसको रेडर्कहरू राख्ने मात्र काम गर्नुपर्ने भए पनि गाउँपालिकाले दोस्राे किस्ताको निकासा गरिसक्नुपर्ने वेलासम्म पहिलो किस्तासमेत दिएको छैन।

गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलका कारण सामाजिक सुरक्षा भत्ताबापतको रकम वितरणमा समस्या भएको गाउँपालिका उपाध्यक्ष उषाकुमारी मण्डलको आरोप छ। ‘अध्यक्षले अहिलेसम्म हाकिमलाई अख्तियारी दिएका छैनन्,’ उनले भनिन्, ‘अध्यक्षले हाकिमलाई आफ्नो डेढ करोड भुक्तानी दिने सर्तमा मात्र अख्तियारी दिने भनेपछि यस्तो समस्या आएको हो।’ प्रमुख प्रशासकीय अधिकृतले काम नगरी भुक्तानी नदिने अडान लिएपछि अध्यक्षले हाकिमलाई अख्तियारी नदिएको उनले बताइन्। उनले भनिन्, ‘म पनि गाउँपािलकाको उपाध्यक्ष हुँ। कामै नगरी कसरी भुक्तानी दिने ? त्यही भएर मैले पनि साइन गरेको छैन।’

अख्तियारी नदिएका कारण भत्ता बाँड्न नसकिएको
गाउँपालिका अध्यक्षले अख्तियारी नदिँदा समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मदनेश्वरप्रसाद चौधरीले बताए। अख्तियारी नदिएकाले सामाजिक सुरक्षा भत्तासमेत बाँड्न नसकिएको उनको भनाइ छ। ‘म यहाँ आएको दुई साता भइसकेको छ। यद्यपि, अझै अख्तियारी दिइएको छैन,’ उनले भने। तर, गाउँपालिका अध्यक्ष मण्डल भने प्रमुख प्रशासकीय अधिकृत नभएकाले काम गर्न नसकिएको बताउँछन्। मण्डलले भने ‘अब केही दिनमा नै नयाँ अधिकृत आउँदै छन्। छिट्टै भत्ता वितरण सुरु गर्छौँ।’

ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका तथा बालबालिका गरी गाउँपालिकाका चार हजार तीन सय १२ जना राज्यले आफ्नो नाममा विनियोजन गरिसकेका सेवा सुविधाका निम्ति महिनौँदेखि प्रतीक्षारत छन्। जनप्रतिनिधिहरूको आपसी टकरावले आफूहरूले पाउनुपर्ने भत्तामा उनीहरूले झेल गरिरहेको वृद्धवृद्धाहरूको भनाइ छ। भत्ताबारे बुझ्न जाँदा जनप्रतिनिधि तथा कर्मचारीले भोलि भन्दै महिनौँदेखि आलटाल गर्दै आएका स्थानीयले गुनासो गरेका छन्।

 

सोमबार २ फागुन २०७८ ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया