×

कांग्रेस लहैलहैमा लागेर परिस्थिति भड्काउन लाग्यो : योगेश भट्टराई

images

नेकपा एमालेका सचिव योगेश भट्टराईले गलत समयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याएर सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले परिस्थिति भड्काउन लागेको आरोप लगाएका छन् ।

देशलाई राजनीतिक अस्थिरतामा लैजान कांग्रेस लागिपरेको उनले आरोप लगाए ।

सोमवार बसेको एमाले संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले छापामार शैलीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाए ।

‘हिजोको सचिवालय बैठक र आजको संसदीय दलको बैठकमा परिस्थितिको समीक्षा गरेका छौं, किन छापामार शैलीमा घटना घटेका छन् ? अहिले एमालेविरुद्ध बनेको गठबन्धनले देशलाई राजनीतिक अस्थिरता, दलहरूको सम्बन्ध बिगार्न खोजेको, मुलुकलाई द्वन्द्व र भीडन्तमा लैजान खोजेको छ,’ भट्टराईले भने, ‘संविधान र लोकतन्त्रलाई घात गरेको छ । कांग्रेस किन लहैलहैमा लागेको छ, हामीले बुझ्न सकेका छैनौं ।’

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने संवैधानिक बाटो भए पनि गलत समयमा गलत नियतले आएको उनले दाबी गरे । ‘स्थानीय चुनावको घोषणा भएको, एमसीसीले राष्ट्रिय मुद्दालाई पेचिलो बनाइराखेको अवस्थामा  सबै परिस्थितिलाई सम्हाल्नुपर्नेमा सरकार परिस्थिति भड्काउने दिशामा गएको छ,’ उनले भने, ‘सर्वोच्चमा चोलेन्द्र या को छ त्यो मतलब भएन तर स्वतन्त्र न्यायालयको पक्षधर भएको हुनाले स्वतन्त्र न्यायालय माथिको हस्तक्षेप हो भनेर बुझेका छौं । स्थानीय चुनावमा गडबडी छ भन्ने कुरा बुझेका छौं । मुलुकलाई असफल बनाउने दिशामा लगेको बुझेका छौं ।’

भट्टराईले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे संसदमा प्रस्ताव पुगेपछि निर्णय लिने बताए । ‘एमसीसीबारे पक्ष या विपक्षमा हात उठाउने बेला भएको छैन, हामीले सत्ता पक्षलाई भनेका छौं, प्रक्रिया छिटो गर, एमसीसी पास गर्नका लागि हाम्रो आवश्यकता छैन,’ उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने १६५ जना सांसद कायम छन् । विश्वासको मत दिनेलाई प्रयोग गर्नुस् न ! किन हामीतिर आँखा लगाउनुहुन्छ ?’

 

सोमबार २ फागुन २०७८ ०५:१८ PM मा प्रकाशित

प्रतिक्रिया