×

उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत छ

images

काठमाडौँ, १ फागुन : खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत रहेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी उपलब्ध गराउन विभिन्न स्थानीय तहमा रहेका पानीको स्रोत खोजीको प्रयास भइरहेको बताउनुभयो ।

“काठमाडौँ उपत्यकामा दैनिक ५१ करोड लिटर पानीको माग छ । हाल १७ करोड लिटरमात्र उपलब्ध गराउन सकिरहेका छौँ”, मन्त्री यादवले भन्नुभयो । काठमाडौँवासीलाई स्वच्छ पानी उपलब्ध गराउनका लागि स्थानीय सरकारले स्थानीय स्तरमा पानीको स्रोत पहिचान तथा खोजी गरी संरक्षण गर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । 

खानेपानीमन्त्री यादवले उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनःसंरचना आवश्यक रहेको बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष बितिसक्दा पनि पर्याप्त पानी उपत्याकामा ल्याउन नसकिएको । 

भौतिक संरचना, प्राविधिक जनशक्ति, आवश्यक उपकरणलगायत अभावका कारण मेलम्ची खानेपानी आयोजनाले निरन्तरता पाउन नसकेको मन्त्री यादवको भनाइ थियो । उहाँले जलवायु परिवर्तनको कारण  मुलुकका हिमाल पग्लने, पानीका मुहान तथा खोला सुक्ने समस्या देखिएको बताउनुभयो । जलवायु परिवर्तन र विभिन्न वातावरणीय प्रभावले खानेपानीको उपलब्धतामा चुनौती थपिँदै गएको उहाँको भनाइ थियो । 

बुधबार २ फागुन २०८० ०७:२० AM मा प्रकाशित

प्रतिक्रिया