वीरगन्ज । मधेस सरकारले प्रदेश सरकारको ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद धेरै ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले सबै ८ राज्यमन्त्रीलाई हटाएका हुन् । २० सदस्यीय पुगेको मधेशको मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ । जसमा ११ मन्त्रालयमा १/१ जना मन्त्री र एक मुख्यमन्त्री छन् ।
२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले पछिल्लो पटक २२ साउनमा पाँच राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद २० सदस्यीय बनाएका थिए । मन्त्रिपरिषदलाई अनावश्यक रुपमा ठूलो बनाएर राज्यस्रोतको दोहन मात्र गरेको भन्दै आलोचना भएको थियो । मधेश प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो ।
प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए । बर्खास्तीमा पर्ने राज्यमन्त्रीमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।
प्रतिक्रिया