×

विकासको गतिले तीव्रता पाउँछ : वरिष्ठ नेता पौडेल

images

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उहाँले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने उल्लेख गर्नुभयो । 

संविधान निर्माण र संविधानको कार्यान्वयनले गर्दा विकासको काम केही समय रोकिएको बताउँदै वरिष्ठ नेता पौडेलले अब विकासको कामलाई पनि टुङ्गोमा पु¥याउने बताउनुभयो । “संविधानको पालना गर्नुपर्दा रोकिएका विकासको काममा ध्यान दिन सकेका थिएनौँ, अब तनहुँमा विकासले काँचुली फेर्छ”, पौडेलले भन्नुभयो । 

उहाँले पाँचदलीय गठबन्धन कायमै रहने बताउनुभयो । स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल भएको बताउँदै पौडेलले आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताउनुभयो । “गठबन्धन अहिलेको आवश्यकता हो, यसमा तलमाथि हुँदैन”, उहाँले भन्नुभयो । 

पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मगाउँलाई विश्वकै पर्यटकीय धार्मिक गन्तव्य बनाइने बताउनुभयो । “जसरी मक्का मदिना आज मुस्लिम समुदायको आकर्षणको केन्द्र बनेको छ, भानु जन्मस्थललाई पनि धार्मिक साहित्यको केन्द्र बनाउनेतर्फ लागिपरेका छौँ”, पौडेलले भन्नुभयो । 

यसैबीच पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । २०९औँ भानुजयन्तीका अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आज भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले यस ठाउँलाई साहित्यिक धामका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । 

पूर्वमन्त्री श्रेष्ठले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताउँदै चुँदीरम्घालाई साहित्यिक धाम बनाएर पर्यटक आकर्षित गर्नुपर्ने उल्लेख गर्नुभयो । भानु जन्मस्थल विकास समितिलाई कहिले स्थानीय सरकारमातहत राख्ने र कहिले नेतृत्वविहीन हुँदा काममा ढिलाइ भएको बताउँदै पूर्वमन्त्री श्रेष्ठले भन्नुभयो, “समितिलाई अहिले पुनः सङ्घीय सरकार मातहत ल्याउन सकिएको छ, अब यसको विकासका लागि ढिलाइ नगरौँ । सबै एकजुट भएर लागौँ ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भानुभक्तलाई वर्षको एक दिन मात्र नभई सधैँभर सम्झिनुपर्ने बताउनुभयो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जन्मस्थलको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । 

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठलगायतले भानु जन्मस्थलको विकासका बारेमा धारणा राख्नुभएको थियो । 

भानु जयन्तीका अवसरमा आयोजित राष्ट्रियस्तरको कविता प्रतियोगिताका विजेतालाई सोही अवसरमा पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा रामेछापका विक्रमपवन परियार प्रथम हुनुभएको छ । त्यस्तै पर्वतका तारानाथ पराजुली द्वितीय, पर्वतकै लक्ष्मीदेव गौडेल तृतीय, अछामका मीनप्रसाद पाण्डे र मोरङका केशव भण्डारी सान्त्वना हुनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजार प्रदान गरिएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो ।
–––

बुधबार २९ असार २०७९ ०९:४० PM मा प्रकाशित

प्रतिक्रिया