काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध नेपाली जनताको युगान्तकारी अभियान र कीर्तिमान कायम गर्ने युद्ध रहेको बताएका छन् । आज (बिहीबार) जनयुद्ध दिवसको अवसरमा माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध ऐतिहासिक रहेको र यसलाई इतिहासबाट कसैले मेटाउन नसक्ने बताए । जनयुद्धलाई जसले मेटाउने दुस्साहस गरेपनि त्यो खरानी हुने उनको चेतावनी छ ।
उनले अगाडि भने, ‘जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ ।’
त्यसका लागि सबै माओवादी धारलाई एक हुन उनले अपिलसमेत गरे । ‘हामी एक भएर मात्रै क्रान्तिका उपलब्धिको रक्षा गर्न पनि सकिन्छ र प्रतिक्रान्तिको खतराका विरुद्ध लडेर विजयी हुन पनि सकिन्छ,’ प्रचण्डले भने, ‘आजको दिन म सम्पूर्ण कमरेडहरुलाई एकताको निम्ति अपिल गर्दछु ।’ उनले समाजवादी मोर्चामार्फत् पार्टी एकता प्रक्रियालाई अघि बढाउन पहल गरिराखेको जानकारी पनि उनले गराए । त्यसको सकारात्मक संकेत पनि देखिएको उनले बताए ।
अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको बताए । उनले प्रतिक्रियावादी शक्तिहरुले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेक गतिविधि गरिरहेको टिप्पणी गरे ।
माओवादीलेसमुदायतर्फ फर्कदै जनताका ‘एजेण्डा’लाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको उनले बताए । राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले महसुस गर्नेगरी उनीहरुको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी जुट्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सशस्त्र सङ्घर्ष सुरु गरेको थियो । सोही दिनको सम्झनामा माओावदी केन्द्रले आज ३०औँ जनयुद्ध दिवस मनाउको हो । त्यसअवसरमा अध्यक्ष प्रचण्डलगायत माओवादी नेताहरुले पार्टी कार्यालय परिसमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
प्रतिक्रिया