×

घिमिरेको अध्यक्षतामा २०१ सदस्यीय समिति गठन

images

एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालले मोहनकुमार घिमिरेको संयोजकत्वमा २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको छ । 

आगामी वैशाख २३ र २४ गते राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लागि हाललाई संयोजक एक, महासचिव एकसहित ३५ सदस्यीय सचिवालय समिति गठन गरिएको हो । नेपाल निजामती कर्मचारी सङ्गठनको नाम परिवर्तन गरी सङ्गठनका पूर्व अध्यक्ष घिमिरेको संयोजकत्वमा नयाँ सङ्गठन निर्माण गरेर सबै सेवा, समूह र तहका कर्मचारी रहनसक्ने व्यवस्था गरिएको छ । 

सङ्गठनको तत्कालीन नेतृत्वलगायतको अध्यक्षता र उनीहरुले विधानविपरीत गरेको क्रियाकलापका कारण नयाँ सङ्गठन स्थापना गरिएको जनाइएको छ । यही फागुन मसान्तभित्र सबै मातहत कमिटीलाई एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालको नाममा रुपान्तरण गरी सङ्गठनलाई श्रम तथा व्यवसायजन्य विभागमा विधिवत् रुपमा चाँडो दर्ता गर्ने प्रक्रिया अगाडि बढाइने बताइएको छ । 

सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलाई कर्मचारी मैत्री बनाइ तत्काल जारी गर्न एवं इच्छाविपरित समायोजन गरिएका कर्मचारीलाई पुनः एकपटक रोज्न दिने व्यवस्थाका लागि दबाबमूलक कार्यक्रम अगाडि बढाउने सङ्गठनले जनाएको छ । 

सङ्गठनले तीनै तहको प्रशासनिक क्षेत्रमा उत्पन्न जटिल समस्यामा केन्द्रित बहस, पैरवी र खबरदारीका पक्षमा दबाब सिर्जना गर्ने अध्यक्ष धिमिरेले जानकारी दिनुभयो । मुलुकको ट्रेड युनियन आन्दोलनको रक्षाका लागि सङ्गठन क्रियाशील रहने बताइएको छ ।

आइतबार​ १ फागुन २०७८ ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया