×

ए डिभिजन लिग : मछिन्द्रको अपराजित यात्रा कायमै, सातदोबाटोले पुलिसलाई हरायो

images

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको खेलमा लिग लिडर मछिन्द्र क्लबले च्यासल युथ क्लबमाथि २–० को सहज जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विमल घर्तीमगर र सुनिल बलले १–१ गोल गरे ।

१७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाएका थिए । रेजिन धिमालको कर्नरमा विमलको हेड पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।

३५ औं मिनेटमा सुनिलले मछिन्द्रको अग्रता दोब्बर पारे । उनले विमलको पासमा सुन्दर फिनिस गरेका थिए । जारी लिगमा सुनिलको यो छैटौं गोल हो ।

दोस्रो हाफमा थप गोल निस्कन नसक्दा मछिन्द्रले २–० को सहज जित हात पार्‍यो ।

यो जितसँगै आफ्नो अपराजित यात्रालाई कायम राखेको मछिन्द्र १० खेलमा २६ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा समान खेलबाट ५ अंकका साथ अन्तिममा रहेको च्यासलको भने रेलिगेसन खतरा बढेको छ ।

त्यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को जित हात पारेको छ ।

खेलको १९ औँ मिनेटमा आकाश बुढामगरले पेनाल्टीमार्फत गरेको एक मात्र गोल सातदोबाटोलाई जित दिलाउन प्रयाप्त बन्यो ।

पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्रभित्र आकाशलाई नै लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनी चुकेनन् ।

यो जितसँगै सातदोबाटो १० खेलमा १५ अंकका साथ पाँचौ स्थानमा उक्लिँदा पुलिस समान खेलबाट १० अंकका साथ १० औँ स्थानमा छ । 

 

शनिबार २९ माघ २०७८ ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया