×

आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लडछ -प्रचण्ड

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू आफू नेतृत्वको सरकारको पालामा सुरु गरिएको बताएका छन् ।

पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिममा आयोजित जनसभालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको निष्कर्ष निकालेको बताए । .उनले केही दिनमै सुरु हुने औपचारिक चरण बैतडीबाट भए पनि पाँचथरको यो कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको उनले स्पष्ट पारे ।

‘मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौं, यसको पूर्वी सुरुआत पाँचथरमा रहेको छ,’ उनले भने, ‘यस क्षेत्रका जनताको हितमा बनेका मध्यपहाडी लोकमार्ग जस्ता पूर्वाधार अभियानहरू पनि हामीले नै सुरु गरेका हौं।’

उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन, र आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दै गर्दा बिचौलिया र दलालहरुले सरकार ढालेको उल्लेख गर्दै भने, ‘बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणाली सुधार गर्ने, जनताको पक्षका विचौलिया दलालहरुको विपक्षीमा काम गर्दा बिचौलिया र दलालहरूलाई मन परेन, त्यसैले अपारदर्शी ढंगले रातारात सरकार ढालियो।’

अध्यक्ष प्रचण्डले संविधान मिचेर आफू नेतृत्वको सरकार ढालिएको बताए । ‘हामी पटक–पटक कांग्रेस र एमालेसँग मिल्यौं, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौं। अब भने हामी मिल्ने छैनौं। हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौं,’– उनले भने ।

स्थानीय तह, स्ववियू निर्वाचन, पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै, उनले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने बताए ।

शनिबार २७ बैशाख २०८२ ०८:१२ PM मा प्रकाशित

प्रतिक्रिया