×

ट्राफिक प्रहरीले गर्‍यो २८ वटा बेवारिसे सवारीसाधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

images

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेवारिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । 

महाशाखाले बिहीवार एक कार्यक्रमबीच बेवारिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई बुझाएको हो ।

२८ सवारीसाधनमा १७ वटा मोटरसाइकल तथा ११ वटा स्कुटर रहेका छन् ।

सम्बन्धित सवारी धनीलाई सवारी हस्तान्तरण गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले सवारी चालकहरूले पार्किङ गर्दा ध्यान पुर्‍याउन आवश्यक रहेको बताए । उनले जथाभावी पार्किङ नगर्ने, पार्किङ गर्दा उज्यालो स्थानमा राख्ने गरेमा सवारीसाधन हराउनबाट जोगाउन सकिने बताए ।

महाशाखा प्रमुख जोशीले भने, ‘हाम्रो एउटा डेडिकेटेट युनिट छ चोरी सम्बन्धी हेर्ने । आज चोरीका केही सवारीसाधनहरू फेला परेपछि सम्बन्धित सवारी धनीलाई बोलाएर दिएका छौं । यसमा धेरै मेहेनत छ । यहाँहरूले पनि आफ्नो सवारीसाधनको सुरक्षा गर्नुपर्छ । त्यसको लागि उज्यालो ठाउँमा राख्ने, जथाभावी पार्किङ नगर्ने गर्नुपर्छ । कतिपय सवारीसाधन बेवारिसे रूपमा प्राप्त गरेका छौं र कतिपय चोरीपछि पक्राउ गरिएका छन् । चोरीमा संलग्नहरूलाई कानूनको दायरामा ल्याएर कानूनअनुसार कारबाही हुन्छ । तपाईंले कतिपय स्थानमा बेवारिसे अवस्थामा रहेका सवारीसाधन देख्नुभएमा १०३ मा खबर गरिदिनुहोला ।’

महाशाखा प्रमुख जोशीले कतिपय सवारीसाधन चोरी गरेको पाइएकाले चोरी गर्नेहरूलाई कानूनी दायरामा लगेपछि मात्रै सम्बन्धितलाई सवारीसाधन हस्तान्तरण गरिने बताए । उनले लामो समयसम्म बेवारिसे रूपमा रहेका सवारीसाधन देखेमा १०३ मा फोन गरेर सूचना दिन आग्रह गरे ।

महाशाखाले चालू आर्थिक वर्षमा ६१ वटा चोरीका सवारीसाधनहरू हालसम्म सम्बन्धित धनीलाई बुझाइएको र चोरीमा संलग्न ३ जनालाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याएको उल्लेख गरेको छ ।

बिहीबार २७ माघ २०७८ ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया