काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन् । गत २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको आधिकारित उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा खनाललाई कांग्रेस केन्द्रीय अनुशासन समितिले कारबाही गरेको हो ।
अनुशासन समितिले खनाललाई कारबाही गरिएको जानकारी पार्टी सभापति शेरबहादुर देउवा, सम्बन्धित प्रदेश र जिल्लामा पठाइएको छ । खनालले पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भनी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो । उजुरीपछि खनाललाई समितिले स्पष्टीकरण सोधेको थियो । तर, जवाफ चित्तबुझ्दो नआएको भन्दै अनुशासन समितिले उनलाई एक वर्षका लागि बार्टी सदस्यबाट निष्काशन गरेको हो ।
‘पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टिकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टिकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणको आधारमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क), (ख) र (घ) र उपधारा ८ (ङ) बमोजिम निजलाई १ (एक) वर्षको लागि नेपाली कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ,’– अनुशासन आयोगले जारी गरेको पत्रमा भनिएको छ ।
प्रतिक्रिया