×

भोटेकोशीमा आएको बाढीमा परी मर्नेको संख्या ८ पुग्यो , २० जना अझै बेपत्ता

images

 काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव रामचन्द्र तिवारीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मर्नेको संख्या ८ पुगेको बताएका छन् । उनले अहिलेसम्म बाढीमा परी मर्नेहरुको संख्या ८ पुगेको र २० जना हराइरहेको उनले बताए ।

‘अप्रत्यासित रुपमा बाढी आयो । त्यसले जनधनको ठूलो क्षति भएको छ । २० जना व्यक्तिहरु हराइराख्नुभएको छ । हिजो बेलुकासम्ममा ८ जना व्यक्तिहरुको शव प्राप्त भएको छ । अरु व्यक्तिहरुको खोजी कार्य जारी छ । मितेरी पुल बगाएको अवस्था छ । स्याफ्रुगढीदेखि रसुवागढीको टिमुरेसम्म जान सडक अवरुद्ध भएको अवस्था छ । केही जलविद्यूत आयोजनामा क्षति पुगेको भन्सार यार्डमा क्षति पुगेको छ । २३/२४ वटा मालवहाक कन्टेनरहरु, ३५ वटाजति इभी गाडीहरु र अरु केही ट्रकहरु पनि बाढीले बगाएको भन्ने जानकारी प्राप्त भएको छ,’– उनले भने ।


साथै, सो क्षेत्रमा बाढी आउँदैछ भन्ने पूर्व सूचना नभएको अवस्थामा बाढी आएको उनले बताए । उनले वर्षा भएर भन्दा पनि तिब्बततिर हिमताल फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताए । प्रमाणित भने नभइसकेको, के भएर बाढी आएको हो भन्ने प्रमाणित कुरा अझैं आइनसकेको उनले बताए ।

सहसचिव तिवारीले बाढीपश्चात खोजी, उद्धार र राहतको काम भइरहेको बताए । अहिले त्यहाँ स्थानीय प्रशासनले काम गरिरहेको उनले बताए । उद्धारको लागि हेलिकोप्टर, थप जनशक्ति काठमाडौंबाट गएको उनले बताए । 

बुधबार २५ असार २०८२ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया