काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु कोही बोरा बोकेर त कोही रित्तो हात फर्किएका छन् । अमेरिकाबाट निष्कासनमा परेका ३७ जना नेपाली नागरिक आइतबार साँझ चार्टर उडानमार्फत काठमाडौं आइपुगेका छन्। अमेरिकी अध्यागमन नियम उल्लंघन गरेको आरोपमा दोषी ठहरिएका ३२ पुरुष र ५ महिला नेपालीलाई ओम्नी एयर इन्टरनेसनलको कलसाइन एन४८६एएक्स भएको विमानमार्फत फिर्ता पठाइएको हो।
अध्यागमन कानुन उल्लंघनको आरोपमा अमेरिकाले उनीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काएको हो। फर्कनेमा ३२ पुरुष र ५ महिला छन्। कतिपय बोरा बोकेर बाहिरिए भने कतिपय रित्तै फर्किए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले भने, “उनीहरू हाम्रो अध्यागमनमा आउँदा सामान्य अवस्थामा थिए। विमानमा के थियो, त्यो हामीलाई थाहा छैन।” हत्कडी लगाइएको थियो वा थिएन भन्ने खुल्न सकेको छैन।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ। भिसा प्रक्रिया पूरा नगर्ने, भिसा अवधि नाघेर बस्ने र गलत आचरण भएकालाई नियन्त्रणमा लिएर डिपोर्ट गर्ने क्रम बढेको छ। सन् २०२५ को जनवरी २० देखि मेसम्म १४० नेपाली डिपोर्ट भइसकेका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मेमा ५८ जना फर्काइए।
विगतका वर्षहरूमा पनि नेपालीहरू डिपोर्ट भएका थिए। सन् २०२१ मा ३५, २०२२ मा २२, २०२३ मा २४ र २०२४ मा ५२ जना फर्काइएको तथ्यांक छ। डिपोर्ट हुनेमा दलाललाई मोटो रकम बुझाएर अवैध बाटोबाट अमेरिका पुग्नेहरू धेरै रहेको स्रोतले जनाएको छ।
डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर पठाउने गरेको छ। दलालविरुद्ध उजुरी परेमा मात्र अनुसन्धान अघि बढ्छ। “अधिकांशले दलालको नाम खुलाउँदैनन्, जसले अनुसन्धानमा कठिनाइ हुन्छ,” एक अधिकारीले भने।
उक्त विमान भारत हुँदै बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। चार्टर उडानमा अमेरिकी अधिकारीहरू समेत रहेका थिए। उनीहरूले नेपाली नागरिकसँगै भारत र बंगलादेशका निष्कासित नागरिकहरूलाई समेत सम्बन्धित देशको जिम्मा लगाएका थिए।
अमेरिकाले हाल गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति कडाइका साथ लागू गर्दै आएको छ। डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई सन् २०२५ जनवरी २० मा पदभार ग्रहण गरेपछि उक्त नीति थप कठोर बनाइएको हो।
ट्रम्प प्रशासनको कडाइपछिका महिनाहरूमा मात्रै १४० जना नेपाली अमेरिकाबाट निष्कासित भइसकेका छन्। तीमध्ये एकपटक चार्टर उडानमार्फत र बाँकीलाई नियमित उडानबाट स्वदेश फिर्ता पठाइएको सरकारी अधिकारीहरूले जनाएका छन्।
प्रतिक्रिया