×

हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या ७५ पुग्यो

images

काठमाडौं । गत चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्नता रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले भोजपुर अरुण गाउँपालिका– ५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका– ४ का ३० वर्षीय जितबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । योसँगै पक्राउ पर्नेको संख्या ७५ पुगेको छ ।

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसूर र अपराधिक उपद्रवलगायतका अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट २० दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा।धवल समशेर राणा, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालगायतका नेताहरु पनि पक्राउ गरेका छन् । मिश्र, राणा, खड्कालगायत २० जनामाथि राज्यविरुद्दको कसुरमा अनुसन्धान भइरहेको छ भने अन्य ५५ जनामाथि आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

राजावादी समूहले तीनकुनेमा गरेको उक्त आन्दोलन हिंसात्मक बन्दा पत्रकारसहित २ जनाको ज्यान गएको थियो । प्रदर्शनकारीहरुले निजी भवन, व्यवसायिक भवन, सार्वजनिक सम्पत्तिलगायतका तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उक्त घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बुधबार २६ चैत २०८१ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया