×

नागढुङ्गा सुरुङमार्ग समयमै सम्पन्न हुने

images


भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले नागढुङ्गा सुरुङ तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । आज निर्माणस्थलको अनुगमनपछि आयोजनाका कर्मचारी र निर्माण कम्पनीसँगको छलफलमा उहाँले अहिलेसम्मको निर्माण सन्तोषजनक रहेको उल्लेख गर्नुभयो । सुरुङ निर्माणको गति र गुणस्तर दुवै राम्रो बनाउन निर्माण कम्पनीले मेहनत गरेको उहाँले उल्लेख गर्नुभयो । 
    
सुरुङमा आउने कुनै पनि किसिमका समस्या समाधानका लागि आफू तयार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वा अरु कुनै पनि किसिमको समस्या आउँदा समाधानका लागि लागिनेछ ।” सुरुङ निर्माण नेपालका लागि पनि सिकाइ भएको मन्त्री यादवको भनाइ थियो । यहाँबाट सिकेको अनुभवबाट अरु ठाउँमा पनि प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 

नागढुङ्गा सुरुङ आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिले पनि स्थानीयवासीलाई मुआब्जाका लागि दिन रकम अपुग भइरहेको बताउनुभयो । विगतदेखि नै मुद्दामा रहेका पाँच घरको टुङ्गो नलागेकाले निर्माणमा बाधा पुगेको उहाँले बताउनुभयो । 

 आयोजनाको हालसम्म भौतिक प्रगति २९ दशमलव एक प्रतिशत र मोबिलाइजेसन पेश्कीसमेत आर्थिक प्रगति ४४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । हालसम्म मुख्य सुरुङ निर्माण ३३ दशमलव दुई प्रतिशत र निष्कासन सुरुङ ५२ दशमलव नौ प्रतिशत सकिएको छ । मन्त्री यादवसँगै सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटलगायत निर्माणस्थल पुग्नुभएको थियो । उहाँहरुले काठमाडौँ जिल्लातर्फ भइरहेको निर्माणको अवलोकन गनुर््भयो । 

बुधबार २६ माघ २०७८ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया