काठमाडौं । राजसंस्था पुनर्स्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पूर्णरुपमा असफल भइसकेको बताएका छन् । आज (बिहीबार) राजावादी समूहरुले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थाले आर्थिक, सामाजिक र सांस्कृतिक संकट, विवाद र द्वन्द्वको अवस्था सिर्जना गरेको दाबी गरे । संयोजक सुवेदीले नेपाल अहिले गम्भीर आर्थिक संकटको संघारमा आइपुगेको पनि बताए । ‘२०७२ साल असोजमा जारी गरिएको संविधानले स्थापना गरेको संघीय, धर्मनिरपेक्ष गणतन्त्र पूर्ण रुपमा असफल प्रमाणित भएको छ,’– उनले भने ।
पूर्व मन्त्री, तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्ययसमेत रहेका सुवेदीले राजसंस्था पुनर्स्थापनको लागि आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणासमेत गरे । संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा हुने उक्त आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), नेपाली कांग्रेस विपी, शिवसेना नेपाल, नेपाल प्रागिक मञ्चलगायतका राष्ट्रवादी दल र शक्तिहरुको समर्थन रहेको बताइएको छ ।
जनताको प्रत्यक्ष अभिमतविना नै बाह्य शक्तिहरुको प्रभाव र उग्र वामपन्थी माओवादीको दवाबमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लादिएको उनको आरोप छ । लोकतन्त्रको आवरणमा दलका सीमित नेताहरुले सिन्डिकेट खडा गरेर देशमा ब्रम्हलुट मच्चाइरहेको उनको आरोप छ । राज्यका सबै निकाय र संरचनाहरु पनि पार्टीकरण भएको र कानुनी राज्यको उपहास भइरहेको उनको आरोप छ । जनताको मुक्तिको निम्ति लडेको भन्ने नेताहरु भ्रष्टाचारमा चु्र्लुम्म डुबिसकेको दाबी गर्दै सुवेदीले धर्मान्तरणको डढेलो देशको सबै भागमा डरलाग्दो तरिकाले फैलिरहेको बताए ।
‘विद्यामान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देश र जनतालाई मुक्त तुल्याउनु वर्तमान समयको मूख्य अभिभारा हो । जनताको अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य हुन गएको छ,’– उनले भने ।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौं ।’ उनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभइ सिंगो देशको भएको जिकिर गरे । ‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन । कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो,’ लिङ्देनले भने । उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिल गरे ।
‘यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ । आजको दिनसम्म औपचारिक रुपमा राजसंस्था र हिन्दुराष्ट्रको पक्ष मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन् ।
प्रतिक्रिया