×

समानुपातिकतर्फको मतगणना आज सकिने, हेर्नुहोस कस्को कति ?

images

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजोनै सकिएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत -एक करोड नौ लाख ७३ हजार २७० मत खसेको जनाइएको थियो ।

हालसम्म एक करोड ४ लाख ७८ हजार ७३५ गणना सकिएको छ । मंगलबार बिहान सवा ७ बजेसम्म २८ लाख १४ हजार ६५५ मत प्राप्त गरी नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेस २६ लाख ८८ हजार २१८ भोटसहित दोस्रो स्थानमा छ । एमाले र कांग्रेसबीच एक लाख २६ हजार ४३७ मतको अन्तर छ ।

तेस्रो स्थानमा रहेको माओवादीले ११ लाख ६४ हजार १०२ मत प्राप्त गरेको छ । ११ लाख २४ हजार ७७८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ । ५ लाख ८६ हजार ८१६ मत ल्याएर राप्रपा पाँचौ स्थानमा हुँदा जसपाले ४ लाख २० हजार ९५४ मत प्राप्त गरेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टी ३ लाख ९४ हजार ५३८ भोटका साथ सातौँ स्थानमा छ । नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ ।

मङ्गलबार २० मंसिर २०७९ ०८:१७ AM मा प्रकाशित

प्रतिक्रिया