×

मानिसको हत्या गरेर त्यहि मासु राखेर बर्गर बनाएर बेच्थे, अमेरिकाका भयानक सिरियल किलरको कहानी

images

सिरियल किलर जोसेफ रोय मेथेनीको जीवनको सुरुवात हुन्छ अमेरिकाको बाल्टिमोर शहरबाट । उनको जन्म २ मार्च सन् १९५५ मा भएको थियो । बाल्यकालदेखि नै पढाईमा तेज थिए । तर पिता सधैँ नशामा हुन्थे । मेथेनी ६ वर्षको हुँदा उनको पिताको निधन भएको बताइन्छ ।

उनकी आमासँग उनको कुरा खासै मिल्दैनथ्यो । तर उनले आफ्नो पढाई जारी राखे । बाल्यकालदेखि शरीर र कद निकै लामो चौडा थियो । उनको उचाई करिब ६ फिट ८ इन्च थियो । १८ वर्षको उमेरमा नै उनी अमेरिकी फौजमा भर्ना भए । यता उनकी आमासँग उनको सम्बन्ध भिन्न भइसकेको थियो । अमेरिकी फौजमा सन् १९७३ मा भर्ती भएपछि उनको पोस्टिङ भियतनाममा भएको थियो । भियतनाममा बस्दा उनको फौजबाट मन उठ्यो । त्यसैले जब केही वर्षपछि अमेरिका फर्किए तब फौजमा कहिल्यै फिर्ता भएनन् ।

उनी धेरैजसो नशामै झुल्न थाले । लागुऔषध दुर्व्यवसनी भए । ड्रग्स लिने बेला नै उनको एक युवतीसँग भेट भयो । ती युवती यौनकर्मीसमेत भइसकेकी थिइन् । यी दुई सँगै बस्न थाले । मेथेनी घरको खर्च चलाउनका लागि ट्रक चलाउँथे । यसरी मेथेनी आफ्नी प्रेमिकासँग बस्न थाले । कसैले परिवारमा को–को छ भनेर सोध्दा आमाबुवा दुबैको मृत्यु भइसकेको बताउँथे । यसरी समय बित्दै गयो र उनीहरुका छोरा पनि जन्मियो ।

प्रेमिका र छोराको खोजी गर्न थाले

त्यसपछि सन् १९९३ मा एक दिन ट्रक लिएर मेथेनी धेरै दिन बाहिरै बसे । घर फर्किँदा प्रेमिका र छोरा दुबै घरमा थिएनन् । उनले दुईजनालाई असाध्यै खोजे । तर कुनै सुराग भेटेनन् । पछि उनले थाहा पाए, उनकी प्रेमिका छोरासँगै अरु नै केटासँग भागिन् । मेथेनीलाई लाग्यो – कतै मेरो बच्चालाई गलत मानिसलाई सुम्पिने पो हो कि ? त्यसैले उनीहरुको खोजीमा हरेक ती व्यक्तिसँग सोधपुछ गर्न थाले जसले उनकी प्रेमिकालाई चिन्दथे ।

तीन जनाको हत्या गरिदिए

एक वर्षपछि सन् १९९४ मा एक दिन उनले पुलको किनारामा दुई जना मानिसलाई भेटे । उनीहरुले उनकी प्रेमिकालाई चिन्दथे । तर उनीहरुबाट प्रेमिकाबारे केही जानकारी पाउन सकेनन् । रिसमा उनले १५० किलोभन्दा बढी तौल भएका मेथेनीले हथौडाले कुटी–कुटी उनीहरुको हत्या गरिदिए । हत्यापछि ती दुईको शव त्यहि नदी नजिकै फ्याँकिदिए । तर यो पूरा घटना त्यहाँका एक माझीले पनि देखेका थिए । त्यसैले मेथेनीले उनको पनि हत्या गरिदिए र उनको शवलाई नदीमा निकै पर फ्याँकिदिए । यस्तै, हत्यामा प्रयोग भएका हथौडा पनि फ्याँकिदिए ।

जेलबाट छुटेपछि बढ्यो रिस

दुई व्यक्ति गायब भएको जानकारी पाएपछि प्रहरीले छानबिन सुरु गर्दा मेथेनीबारे पत्ता लाग्यो । प्रहरीले उनलाई पक्राउ पनि गर्यो । तर हत्यामा प्रयोग भएको हतियार भने भेटिएन । न नै उनले हत्या गरेका माझीको शव फेला पर्यो । मेथेनीमाथि दुई व्यक्तिको हत्या गरेको मुद्दा चल्यो र त्यसमा पनि प्रमाण भेटिएन । त्यसैले केही महिनापछि उनी जेलबाट छुटे । तर जेलबाट छुटेपछि उनको रिस धेरै नै बढ्यो । साथै, उनलाई थाहा भयो कि यदि जसको हत्या गरियो, त्यसको शव र हत्या गर्न प्रयोग गरिएको हतियार भेटिएन भने अपराधीबारे पत्ता लाग्न निकै गाह्रो हुन्छ ।

त्यसैले अब उनी चलाख हत्यारा बने । र उनको निशानामा ती सबैजना थिए जो उनलाई छोडिसकेकी प्रेमिकाको पहिचानमा थिए वा उसको पेशासँग सम्बन्धित थिए । उदाहरणका लागि उनीबाट ड्रग्स लिनेदेखि यौनकर्मीसम्म । मिडिया रिपोर्टमा बताए अनुसार जोसेफ रोय मेथेनीलाई लाग्थ्यो कि उनकी प्रेमिकाको गलत व्यवहारका कारण उनको छोरा पनि उनीबाट टाढा भए । छोराबारे सोचेर उनले ती सबैलाई मार्न चाहन्थे ।

कंकाललाई पनि गरे ‘बलात्कार’

त्यसैले सन् १९९५ देखि नै उनी विशेषगरी रेड लाइट एरियाका युवतीलाई भेट्न बोलाउँथे र त्यसपछि यौन सम्बन्ध स्थापित गरेपछि हत्या गरिदिन्थे । उनले निकै निर्ममतापूर्वक हत्या गर्दथे । यहाँसम्म कि एक यौनकर्मीको हत्यापछि उनको माथिल्लो हिस्सालाई आफ्नो एउटा घरमा राखिदिएका थिए र एकपटक रिसमा उनले कंकालसँग पनि यौन सम्बन्ध राखेका थिए ।

बक्समा भेटियो युवतीको कंकाल

स्थिति यस्तो आइसकेको थियो कि बाल्टिमोर शहरबाट मानिसहरु लगातार गायब हुन थालेका थिए र उनीहरुको शव पनि भेटिरहेको थिएन । पहिलो शव कंकालको रुपमा एकदिन कुनै सरसफाईकर्मीले एउटा बक्समा भेटिन् । उनले त्यो बक्स खोल्दा त्यसभित्र कंकाल थियो । यो कंकाल एउटी युवतीको थियो । उनको पहिचान क्याथीको रुपमा भयो । उनी निकै लामो समयदेखि हराइरहेकी थिइन् । उनी एक यौनकर्मी थिइन् । तर हत्या कसले र किन गर्यो भन्ने खुल्न सकेको थिएन ।

हत्यापछि शवको टुक्रा पार्न थाले

यसको केही महिनापछि अर्की एक युवतीको शव यस्तै बाकसमा भेटियो । उनी पनि यौनकर्मी नै थिइन् । तर मार्ने व्यक्तिबारे पत्ता लाग्न सकेको थिएन । उता जोसेफ कहिलेकाँही ट्रक चलाउँथे भने कहिले सडकको किनारामा ठेला राख्थे । त्यहाँ बर्गर र स्यान्डविच बेच्न थाले । पोर्क र बिफ स्यान्डविच र बर्गरको निकै माग थियो । तर जोसेफलाई थाहा थियो कि यदि हत्या गरेपछि आफूलाई जोगाउनु छ भने प्रमाण मेट्नुपर्छ । त्यसैले उनले हत्यापछि मानिसहरुको शरीर टुक्रा पारेर मासु निकाल्न थाले ।

शवको टुक्रालाई यसरी ठेगाना लगाउँथे

मासु निकालेपछि शवको बाँकी टुक्रालाई बक्समा बन्द गरेर वा अन्य तरिकाले प्याकेटमा राखेर कतै फ्याँकिदिन्थे । त्यसपछि त्यहि मान्छेको मासुलाई भुटेर आफैँ पनि खान्थे र बर्गर र स्यान्डविचमा पनि राखेर बेच्थे । यो सिलसिला निकै लामो समयसम्म चलिरह्यो । मेथेने विशेषगरी यौनकर्मीलाई निशानामा पार्थे र उनीहरुलाई घर बोलाएर मारिदिन्थे ।

बाल–बाल बचिन् युवती

त्यसपछि सन् १९९६ आयो । एकदिन जोसेफ ट्रक लिएर आफ्नो शिकारको खोजीमा निस्किएका थिए । उनको भेट यौनकर्मी रिटा क्याम्परसँग भयो । उनले उनलाई आफ्नो ट्रकमा लिफ्ट दिए र बाटोमा ड्रग्स पनि दिए । त्यसपछि मेथेनीले उनलाई एउटा कारखानामा लिएर गए जहाँ उनी बस्दथे । त्यहाँ रिटालाई भिन्न महसुस भयो र उनी त्यहाँबाट भाग्न खोजिन् । तर मेथेनीले उनलाई रोके र उनीमाथि बलात्कारको प्रयास पनि गरे । उनले रिटामाथि कुटपिट पनि गरे । त्यसपछि गला दबाएर मार्ने कोसिस गरे । तर कसैगरी रिटाको हात ट्रकमा राखिएको एउटा हथौडामा पर्यो । त्यहि हथौडाले मेथेनीमाथि हमला गरेर उनी त्यहाँबाट भागिन् । त्यहाँबाट भागेर उनी सिधै प्रहरी स्टेशन पुगिन् र उनीविरुद्ध उजुरी दर्ता गराइन् । प्रहरी तुरुन्त घटनास्थल पुग्यो, तर त्यतिबेलासम्म जोसेफ त्यहाँबाट फरार भइसकेका थिए ।

यसरी पक्राउ परे सिरियल किलर जोसेफ मेथेनी

अब प्रहरीले बलात्कार र हत्याको प्रयासको आरोपीको स्केच तयार गरे । उनको खोजी कार्य सुरु गरियो । तर कुनै सुराग भेटिएन । त्यसपछि सन् १९९६ मा अगस्ट १५ मा एक फोनमार्फत् प्रहरीले संदिग्ध जोसेफ मेथेनीको जानकारी पाए । प्रहरीले उसलाई तुरुन्त पक्राउ गरे । साथै, हत्यामा प्रयोग गरिएको हथौडा पनि बरामद गरे ।

मृत्युको वास्तविक कारण कहिल्यै भेटिएन

प्रहरीको सोधपुछमा मेथेनीले १० युवतीसहित १३ जनाको हत्या गरेको कुरा स्वीकार गरे । प्रेमिकाले धोका दिएपछि आफू यस्तो बनेको उनले प्रहरीलाई बताए । गिरफ्तारीपछि अदालतमा जोसेफ आफैँले मृत्युदण्डको सजाय मागेँ । उनले सजाय पाए पनि ।

तर सन् २००० मा मृत्युदण्डको सजाय जन्मकैदमा बदलियो । करिब २१ वर्ष जेलमा बसेपछि ५ अगस्ट २०१७ मा जासेफ मेथेनीको मृत्यु भयो । जेलमा उनको मृत्युको कारण हृदयाघात बताइयो तर थुप्रै मिडिया रिपोर्टमा कैदीले कुटीकुटी उनको हत्या गरिएको भन्ने आयो । तर बाल्टिमोरमा डरको दोस्रो नाम बनिसकेका यी सिरियल किलरको अन्त्य पनि रहस्यमयी रह्यो । मृत्युको वास्तविक कारण कहिल्यै सार्वजनिक भएन । ratopati

 

मङ्गलबार २० मंसिर २०७९ ०७:५९ PM मा प्रकाशित

प्रतिक्रिया