काठमाडौँ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साहलाई नियुक्त गर्ने निर्णय गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट सिफारिस गरेका उत्कृष्ट तीन उम्मेदवारहरूमध्येबाट साहलाई कार्यकारी निर्देशकमा छनोट गरिएको हो। अन्तिम प्रतिस्पर्धामा साहका साथै कौशल केसी र सञ्जीवकुमार देव सिफारिसमा परेका थिए।
निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहिसक्नुभएका साहले आयल निगममा लामो समय काम गरेको अनुभव सँगाल्नुभएको छ। निगमको कार्यप्रणाली र समग्र आपूर्ति प्रणालीबारे जानकार रहेकाले नै सरकारले उहाँलाई यो जिम्मेवारी सुम्पेको बताइएको छ।
नवनियुक्त कार्यकारी निर्देशक साहका अगाडि जिम्मेवारी सम्हालेलगत्तै समाधान गर्नुपर्ने थुप्रै चुनौतीहरू रहेका छन्। विशेष गरी हाल देशभर देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभाव र उपभोक्ताले सास्ती व्यहोर्नु परेको समस्यालाई तत्काल समाधान गर्नु उहाँको पहिलो र मुख्य प्राथमिकता हुनेछ।
प्रतिक्रिया