×

मंसिरका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिँदैछन् ? (सूचीसहित)

images

काठमाडौँ । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घट्ने क्रमले मंसिर महिनामा पनि निरन्तरता पाएको छ । २० वटा वाणिज्य बैंकहरूले मंसिरका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिकको तुलनामा औसत ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेको हो । यद्यपि, अधिकांश बैंकहरूले कात्तिक महिनाकै ब्याजदरलाई स्थिर राखेका छन् ।

कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.०१३ प्रतिशत रहेकोमा मंसिरमा घटेर ३.९०६ प्रतिशतमा झरेको छ । पछिल्लो केही महिनायता बैंकहरूको ब्याजदर निरन्तर ओरालो लागिरहेको छ । तथ्याङ्कअनुसार यस्तो औसत ब्याजदर गत साउनमा ४.१६७५ प्रतिशत, भदौमा ४.१३६० प्रतिशत र असोजमा ४.०८९६ प्रतिशत कायम भएको थियो ।

६ बैंकले घटाए, १४ ले स्थिर राखे

मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १४ वटा बैंकले कात्तिककै दरलाई निरन्तरता दिएका छन् । बैंकहरूले छोटो अवधिका लागि न्यून र लामो अवधिका लागि तुलनात्मक रूपमा बढी ब्याजदर निर्धारण गरेका छन् ।

मंसिरमा व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा बढी ब्याजदर सानिमा बैंकले ४.५० प्रतिशत कायम राखेको छ । बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपका लागि उक्त दर तोकेको हो । सबैभन्दा कम ब्याजदर माछापुच्छ्रे बैंकको ३.५० प्रतिशत रहेको छ । माछापुच्छ्रेले कात्तिकको ४.५० प्रतिशतबाट एकैपटक १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको हो ।

कर्जाको ब्याजदर अझै सस्तिने संकेत

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको तर कर्जा प्रवाह सुस्त भएकाले बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप संकलन बोलकबोलमार्फत तरलता खिचिरहेको छ ।

निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दर (Base Rate) कम हुन जान्छ, जसले आगामी दिनमा कर्जाको ब्याजदर थप सस्तिन मद्दत पुग्नेछ । पहिले नै लामो अवधिको मुद्दती खाता खोलिसकेका ग्राहकले भने पुरानै सम्झौताअनुसारको ब्याज पाउनेछन् । मंसिरमा खुल्ने नयाँ खाता र मंसिरमै अवधि सकिएर नवीकरण हुने मुद्दती निक्षेपमा मात्र नयाँ ब्याजदर लागू हुनेछ ।

व्यक्तिगत मुद्दतीमा कुन बैंकको ब्याजदर कति ? (प्रतिशतमा)

बैंकको नाम कात्तिकको अधिकतम ब्याजदर मंसिरको अधिकतम ब्याजदर
सानिमा बैंक ४.५० ४.५०
एनएमबी बैंक ४.५० ४.२५
प्रभु बैंक ४.२५ ४.२५
नेपाल बैंक ४.१५ ४.१५
ग्लोबल आईएमई बैंक ४.०० ४.००
हिमालयन बैंक ४.०० ४.००
नेपाल एसबीआई बैंक ४.०० ४.००
एनआईसी एसिया बैंक ४.०० ४.००
प्राइम कमर्सियल बैंक ४.०० ४.००
राष्ट्रिय वाणिज्य बैंक ४.०० ४.००
सिटिजन्स बैंक ३.८५ ३.८५
सिद्धार्थ बैंक ३.७६ ३.७६
एभरेस्ट बैंक ३.७५ ३.७५
लक्ष्मी सनराइज बैंक ४.०० ३.७५
नबिल बैंक ३.७५ ३.७५
इन्भेस्टमेन्ट मेगा बैंक ३.७० ३.७०
कृषि विकास बैंक ४.१५ ३.६५
स्ट्यान्डर्ड चार्टर्ड बैंक ३.७० ३.६५
कुमारी बैंक ३.७० ३.६१
माछापुच्छ्रे बैंक ४.५० ३.५०
सोमबार १ मंसिर २०८३ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया