×

इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण देखियो : महासचिव पोखरेल

images

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान प्रक्रिया पारदर्शी नभएको र थप रहस्यपूर्ण बन्दै गएको बताएका छन् । सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले उक्त प्रकरणमा राज्यको अस्वाभाविक तथा असम्भावित हस्तक्षेपसमेत देखिएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाए । उनले प्रधानमन्त्रीका नाममा राज्यका सबै क्षेत्रलाई आतङ्कित बनाउने प्रयास भइरहेको आरोप लगाए । विशेषगरी, प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको मोबाइल फोन प्रधानमन्त्रीका सल्लाहकारले दुई दिनसम्म आफ्नो साथमा राखेको विषय बाहिर आउनुले अनुसन्धानको निष्पक्षतामाथि थप शंका पैदा गरेको उनले बताए ।

यसैगरी, महासचिव पोखरेलले वर्तमान कार्यकारी नेतृत्व लोकतान्त्रिक मूल्यमान्यता र जनप्रतिनिधिमूलक निकायप्रति उत्तरदायी हुन नसकेको धारणा राखे । लोकतन्त्रमा जनता सार्वभौम हुने भए पनि सरकार जनउत्तरदायी बन्न नसकेको उनको भनाइ थियो ।

वर्तमान राजनीतिक परिदृश्यबारे टिप्पणी गर्दै पोखरेलले नेतृत्वको कार्यशैलीप्रति कटाक्ष गरे । उनले दलको नेता भएर पनि दलको बैठकको अध्यक्षता नगर्ने, पार्टीको वरिष्ठ नेता भएर पनि पार्टीका बैठकहरूमा सहभागी नहुने र अन्य राजनीतिक दलहरूसँग संवादसमेत नगर्ने अनौठो परिदृश्य अहिलेको राजनीतिमा देखिएको बताए ।

प्रकरणको सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिँदै एमालेले राज्य संयन्त्रको दुरुपयोग रोक्न र अनुसन्धानलाई पारदर्शी बनाउन माग गरेको छ ।

सोमबार १ मंसिर २०८३ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया