×

विद्या भण्डारी राजनीतिमा ओलीकै सहमति र प्रस्तावमा आउनुहुन्छ: सचिव रघुवीर महासेठ

images

काठमाडौ  । नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्ना अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन्। आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीनिकट नेता महासेठले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्षकै प्रस्तावमा आउने जिकिर गरेका हुन्।

‘बजार हल्ला छ( अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरू कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन महासेठले भने, अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन।’

महासेठले थपे, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनुहुन्छ।’ राष्ट्रपति बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीतिबाट अलग रहेकी पूर्वराष्ट्रपति भण्डारीले यही असार १४ गते मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममार्फत आफू पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।

त्यसयता अब भण्डारीले एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई टक्कर दिने चर्चा भइरहेको छ। राष्ट्रपति हुनु पहिले भण्डारी एमालेकी उपाध्यक्ष थिइन्।

पार्टी सचिवालयमा पनि यसबारे केही छलफल भएको जानकारी दिँदै महासेठले भण्डारीको राजनीतिमा फर्किने निर्णय व्यक्तिगत विषय भएको बताए। भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको जनाउँदै, उनले पार्टीभित्र कुनै विवाद सिर्जना नगरेको पनि स्पष्ट पारे।

महासेठले केही नेताहरूले मात्र अनावश्यक अन्तरविरोध पैदा गर्न खोजेको र पूर्वराष्ट्रपतिलाई विवादमा तानिएकोप्रति असन्तुष्टि जनाए। 'हाम्रा एक-दुई जना साथीहरुले जुन प्रकारले पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउने प्रयास गरेका छन्, त्यो उचित होइन,' उनले भने।

आइतबार​ २२ असार २०८२ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया