×

बाल मन्दिरको जग्गा हिनामिना प्रकरण-रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय

images

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय भएको छ।

महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि उनीहरूविरूद्ध मुद्दा चलाउने निर्णय गरेको हो। बालमन्दिर जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी र जग्गा बद्नियतपूर्ण रुपमा जग्गा लिजमा भोग गरिरहेको बृहस्पति विद्या सदनका सञ्चालकविरुद्ध ठगीमा मुद्दा चलाउने निर्णय गरेको हो ।

अनाथका लागि सरकारले संगठनलाई उपलब्ध गराएको जग्गा तेस्रो पक्षलाई बद्नियतपूर्ण रुपमा दिइएको भन्दै यसमा ठगी भएको महान्यायाधिवक्ता कार्यालयले किटान गरेको हो ।

२०८१ वैशाख दोस्रो साता नेपाल बाल संगठनले बृहस्पति विद्या सदनसँग गरेको लिज सम्झौता खारेज गरेको थियो । त्यसपछि बृहस्पति यसविरुद्ध उच्च अदालत पाटन गएकामा दुवै पक्षलाई ‘आर्बिटेसन’बाट विवाद सुल्झाउन र मुद्दामा नलैजान चलखेल भएको थियो । मिलेमतोमा संगठनले २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिजमा दिने गरी बद्नियतपूर्ण निर्णय गरेको थियो ।

महन्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले भने, ‘मुद्दा चलाउन नपर्ने भनी राय आएको थियो, त्यसलाई उल्ट्याएर मुद्दा चलाउनुपर्ने भनी निर्देशन दिने निर्णय भएको छ । फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइसकिएको छ ।’ रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको छ । उनी लगायत निर्णय प्रक्रियामा संलग्नहरुमाथि अनुसन्धान भएको थियो । रिता सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । 

मङ्गलबार २३ बैशाख २०८२ ०८:१४ PM मा प्रकाशित

प्रतिक्रिया