×

ज्ञानेन्द्र शाहले दलहरुसँग गरेको सहमति उल्लङ्घन गरे- मन्त्री पृथ्वीसुब्बा गुरुङ

images

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग गरेको सहमति उल्लङ्घन गरेको बताएका छन् । आज (आइतबार) लमजुङको क्व्होलासोथार गाउँपालिका–५ सिङ्दीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले ‘संविधानको परिपालना गर्ने, सार्वभौम नागरिकको अधिकारलाई कुनै दखल नगर्ने’ भन्ने सम्झौता पूर्वराजा ज्ञानेन्द्रबाट उल्लङ्घन भएको बताएका हुन् । गत फागुन ७ गतेदेखि पूर्वराजा ज्ञानेन्द्रले उक्त सहमति उल्लङ्घन गरेको बताउँदै उनले आफूहरुलाई त्यो कुरा स्वीकार्य नरहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले केही दिनदेखि राजावादीको नाममा व्यवस्था र संविधान विरोधी तत्त्वहरु सल्बलाउन थालेको बताए । मन्त्री गुरुङले लोकतान्त्रिक सरकार रहेको बेलामा उनीहरुले विरोध, जुलुस र आलोचना गर्न पाएपनि राजावादीको नाममा हत्या, हिंसा, अराजकता र लुटपाटको बाटो रोजियो भने सरकार टुलुटुलु हेरेर नबस्ने बताए ।

मन्त्री गुरुङले यस्ता प्रकारका अराजक गतिविधिमा साथ नदिनसमेत आग्रह गरे । उनले जनताले रगत र पसिना बगाएर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सरकार सधैं प्रतिवद्ध रहेको पनि बताए । संविधान मिच्ने, कानुन मिच्ने, जनताको अधिकारमाथि धावा बोल्ने शक्तिमाथि सरकारले सख्त कारबाही गर्ने उनको चेतावनी छ ।

आइतबार​ २३ चैत २०८१ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया