×

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि

images

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । राष्ट्रिय सभागृहमा केन्द्रीय कमिटी बैठक हुनेछ।
  माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।

एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको आठौं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो।

यो केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए।

नेता वर्षमान पुन उपचारका लागि चीनमा रहेकोले केन्द्रीय कमिटी बैठक सर्दै आएको थियो। वर्षमान नेपाल फर्किसकेका छन्। व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतको फरक मत छ ।

केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखतरुपमै राख्ने उनीहरुको तयारी छ । तर माओवादीको केन्द्रीय कमिटी बैठक मुख्य प्रयोजन पदाधिकारी चयन रहेको बुझिएको छ ।

शुक्रबार​ २० फागुन २०७८ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया