×

विपत्तिका बेला उपभोक्तालाई अर्को ठूलो झट्का: ढुवानी भाडा बढेको भन्दै व्यवसायीले बढाए ग्याँसको मूल्य, अब प्रतिसिलिन्डर २१६५ रुपैयाँ!

images

काठमाडौँ, भदौ १८ - भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण देश आक्रान्त भइरहेका बेला काठमाडौँ उपत्यकाका उपभोक्तामाथि थप आर्थिक भार थपिएको छ। नेपाल एलपी ग्याँस उद्योग संघले पृथ्वी राजमार्गको कृष्णभीर लगायतका क्षेत्रमा सडक बगाएर मुख्य मार्ग ठप्प भएको बहाना बनाउँदै खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसाले बढाउने निर्णय गरेको हो।

यसअघि नेपाल आयल निगमले उपभोक्ता मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा व्यवसायीहरूले अतिरिक्त ढुवानी भाडा जोडेर नयाँ मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा कायम गरेका हुन्।

ग्याँस उद्योग संघको आपत्कालीन बैठकपछि संघका पूर्वअध्यक्ष शिव घिमिरे र वर्तमान अध्यक्ष दिवान बहादुर चन्दले जारी गरेको विज्ञप्ति अनुसार मुख्य राजमार्ग अवरुद्ध भएपछि तराईका (मकवानपुर, पर्सा, बारा, चितवन र नवलपरासी) प्लान्टहरूबाट हेटौँडा–भीमफेदी–कुलेखानी वा कान्ति लोकपथ जस्ता वैकल्पिक र अप्ठ्यारा बाइपास सडक प्रयोग गरी ग्याँस ल्याउनुपरेकाले ढुवानी भाडा बढेको हो।

व्यवसायिहरूका अनुसार वैकल्पिक बाटोबाट साना तथा मझौला ट्रकमार्फत ग्याँस सिलिन्डर काठमाडौँ भित्र्याउँदा प्रतिसिलिन्डर १८० रुपैयाँ ८० पैसासम्म अतिरिक्त खर्च बढेको छ। तर, उपभोक्तालाई धेरै मार नपरोस् भनेर ढुवानी भाडाको अन्तर रकममध्ये प्रतिसिलिन्डर करसहित १०५ रुपैयाँ ३८ पैसा मात्र थप गरिएको दाबी संघले गरेको छ। ग्याँसको अन्तर्राष्ट्रिय वा आधारभूत मूल्य नबढेको भए पनि केवल ढुवानी भाडाको भिन्नताका कारण उपभोक्ता मूल्य बढेको व्यवसायीहरूको भनाइ छ।

ग्याँसको मूल्य निर्धारण गर्ने मुख्य कानुनी परिपाटी र अधिकार नेपाल आयल निगमसँग मात्र सुरक्षित छ। तर, निगमले दुई दिनअघि मात्रै (भदौ १७ गते) बाढीपहिरोका कारण नागरिकले भोगिरहेको असहज अवस्थालाई मध्यनजर गर्दै इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आउँदा पनि खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको थियो।

निगमले मूल्य नबढाए पनि उद्योगीहरूले आफ्नै बैठकबाट मूल्य तोकेर बजारमा पठाएपछि उपभोक्ता अधिकारवादीहरूले विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा मूल्य बढाइएको भन्दै कडा आपत्ति जनाएका छन्। बजारमा ग्याँसको कृत्रिम अभाव र कालोबजारी रोक्नुपर्ने बेला व्यवसायीहरूले एकलौटी मूल्य बढाउँदा पनि नियमनकारी निकाय मौन बस्नु रहस्यमयी भएको उपभोक्ताहरूको गुनासो छ।

ग्याँस उद्योग संघले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा बजार व्यवस्थापन गर्न ग्याँस उद्योगी तथा बिक्रेताहरूलाई तत्काल नयाँ सिलिन्डरको बजारीकरण (नयाँ सिलिन्डर बिक्री) नगर्न र आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ। साथै, व्यवसायीहरूले सरकारलाई पहिरो पन्छाएर पृथ्वी राजमार्ग तत्काल एकतर्फी भए पनि खुलाउन माग गरेका छन्, जसले गर्दा ढुवानी लागत घट्न सकोस्।

बिहीबार १८ भदौ २०८३ ०९:२८ PM मा प्रकाशित

प्रतिक्रिया