काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुेछिन्। त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन्।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्कने तालिका छ।
चारदिने चीन भ्रमणका क्रममा ‘बीआरआई फ्रेमवर्क’ भित्र सञ्चालन हुने गरी नेपालले प्रस्ताव गर्ने नयाँ परियोजनासहितका एजेन्डालाई मन्त्रिपरिषद् बैठकले आइतबार अनुमोदन गरेको छ । सत्तारूढ कांग्रेस र एमालेले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अघि बढाउन बनाएको साझा अवधारणासहितको विकास परियोजनाको सूचीलाई नै मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र चीनका समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा द्विपक्षीय वार्ता हुनेछ । सोही क्रममा दुई देशबीचका एजेन्डामाथि छलफल हुने र सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ पक्षसमक्ष प्रस्ताव गरिने अनुदानमा सञ्चालन गर्ने गरी सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित दर्जन परियोजनाको सूची पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
बालुवाटार स्रोतका अनुसार ‘बीआरआई फ्रेमवर्क’भित्र सञ्चालन हुने गरी नयाँ परियोजनाको सूची प्रस्ताव गरिनेछ । जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स छन् ।
प्रतिक्रिया