×

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

images

काठमाडौँ। नबिल बैङ्क र नेपाल इन बिजनेस – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ।


उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ) ले एनआइबी–जिए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउनेछ। उक्त अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रुपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ।

नबिल बैङ्कका सिइओ ज्ञवालीले यस प्रकारका अभियानले साना तथा मझौला उद्यमीहरूको मनोबल बढाउन सहयोग पुग्ने बताए। “यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ”, उनले भने, “परियोजनाअन्तर्गत नबिल बैङ्कले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ।”

एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रुपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैङ्कप्रति आभार व्यक्त गरे। “यस प्रकारको सहकार्य सोही प्रकृतिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यस प्रकारका ढाँचा अवलम्बन गर्न सक्छ”, उनले भने।

साझेदारीअनुसार नबिल बैङ्कले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैङ्कले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रुपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । एनआइबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको बैङ्कको भनाइ छ।

एनआइबी–जिए पाँच वर्षे परियोजना हो। परियोजनामा बेलायतको यूके इन्टरनेशनल डेभेलप्मेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ।

शुक्रबार​ १३ मंसिर २०८२ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया